मनमाया स्मृति गजल पुरस्कार घोरासैनीलाई

गुगलपाटी संवाददाता
३ चैत्र २०७५ ०२:४३

हेटौंडा– मकवानपुरको माध्यमिक तह स्तरीय गजल प्रतियोगितामा बकैया गाउँपालिका–४ मा रहेको महेन्द्र नमूना माध्यमिक विद्यालयका भीमबहादुर घोरासैनी सर्वोत्कृष्ट भएका छन् । ८ जना प्रतियोगीलाई पछि पार्दै घोरासैनीले मनमाया स्मृति गजल पुरस्कार जितेका हुन् ।

गजल मञ्च मकवानपुरले हरेक वर्ष प्रतियोगितात्मक कार्यक्रममार्फत सर्वोत्कृष्टलाई गजल पुरस्कार प्रदान गर्दै आएको छ । गजल मञ्च मकवानपुरले शनिबार १५३ औं नियमित गजल यात्रा तथा मनमाया स्मृति गजल पुरस्कार प्रदान गरेको हो । प्रतियोगितामा जिल्लाका कक्षा ९ देखि १२ कक्षासम्मका ९ जना विद्यार्थीले प्रतियोगितामा सहभागिता जनाएका थिए । जसमध्ये उत्कृष्ट ३ गजल कार्यक्रममा बाचन गराई सर्वोत्कृष्ट छनौट गरिएको थियो ।

उत्कृष्ट ३ मा महेन्द्र माविकै छात्रा शर्मिला घलान र ब्रम्हदिक एकेडेमीकी छात्रा कृतिका लौडारी छनौट भएकी थिइन् । गजल मञ्च मकवानपुरका पूर्वअध्यक्ष दीपक गौतमले आफ्नी स्वर्गीय हजुरआमाको स्मृतिमा गजल पुरस्कार स्थापना गरेका हुन् । २ हजार दुई रुपैयाँ राशीको पुरस्कार यसवर्ष घोरासैनीले जितेका हुन् । पुरस्कार संस्थापक गौतम, बरिष्ठ साहित्यकार तुल्सी थापा, मञ्चका अध्यक्ष देवराज तिवारीलगायतले प्रतियोगितामा सर्वोत्कृष्ट भएका घोरासैनीलाई पुरस्कार प्रदान गरिएको थियो । गजलकार विश्वनाथ सञ्जेल र सञ्जीत श्रेष्ठ निर्णायकको भूमिकामा रहेका थिए ।

कार्यक्रममा पुरुषोत्तम आचार्य, विश्वनाथ सञ्जेल, सञ्जीत श्रेष्ठ, सुनिल गौतम, चिरञ्जीवी लामिछाने, अनिश न्यौपाने भावना, रमेश बिडारी, मेनु तिमल्सिनालगायतले अप्रतियोगी गजल बाचन गरेका थिए । मञ्चका अध्यक्ष तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ साहित्यकार तुल्सी थापाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा हास्यव्यङ्ग्यकार आरसी रिजाल, गीतकार तुल्सी घिमिरे, साहित्यसेवी मुक्तिगोविन्द वैद्य, पुरस्कार संस्थापक दीपक गौतमलगायतले मन्तव्य व्यक्त गरेका थिए ।