आजका पत्रपत्रिकाः प्रदेशको आवधिक योजना, पाँच वर्षमा सबै क्षेत्रमा खानेपानी र विद्युत् सेवा पुग्ने दावी
गुगलपाटी संवाददाता३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले आज ३ नम्बर प्रदेशको नीति तथा योजना आयोगले पञ्चवर्षीय आवधिक योजना सार्वजनिक गरेको सम्बन्धी समाचारलाई पहिलो प्राथमिकताका साथ छापेको छ ।
३ नम्बर प्रदेशको नीति तथा योजना आयोगले आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्मको योजना समेटेर पञ्चवर्षीय आवधिक योजना सार्वजनिक गरेको छ । आयोगले आवधिक योजनामा ‘स्वस्थ, सुसंस्कृति र सुखी जनता, समाजवाद उन्मुख समृद्ध प्रदेश’ भन्ने दीर्घकालीन सोच राखेको आधारपत्रको आइतबार प्रदेश सभामुख सानुकुमार श्रेष्ठल सार्वजनिक गरेका हुन् । संघीयताको सुदृढीकरण तथा लगानी अभिवृद्धिद्धारा सामाजिक न्यायसहितको दीगो तथा उच्च आर्थिक वृद्धिद्धर हासिल गर्नु योजनाको लक्ष्य रहेको छ ।
पञ्चवर्षीय आवधिक योजनाको अन्तिम वर्षसम्ममा अहिलेको तुलनामा बजेटको आकार झण्डै तीन गुणाले बढ्ने दावी गरिएको छ । प्रदेशले पहिलो पटक ०७५/७६ मा ३५ अर्ब ६२ करोडको बजेट बनाइएकोमा आब २०८०/८१ सम्ममा बजेटको आकार बढेर झण्डै एक खर्ब हुने आधारपत्रमा उल्लेख गरिएको छ ।
प्रदेशको प्रतिव्यक्ति आय दोब्बरभन्दा बढीले वृद्धि हुने आयोगको दावी छ । हाल एक हजार ७ सय ६७ अमेरिकी डलर प्रतिव्यक्ति आय रहेको प्रदेशमा पाँच वर्षपछि प्रतिव्यक्ति आम्दानी ४ हजार १८ अमेरिकी डलर पुग्ने अनुमान आधारपत्रमा गरिएको छ । मुलुकको कुल ग्राहस्त उत्पादनमा प्रदेशको हिस्सा ४० प्रतिशतभन्दा बढी हुने उल्लेख छ । प्रदेशको गरिबी पनि आधा घट्ने अनुमान छ ।
वर्तमान तथ्याङ्कअनुसार ३ नम्बर प्रदेशमा ६९ वर्ष औसत आयु रहेकोमा ५ वर्षको अवधिमा औसत आयुमा समेत वृद्धि भई ७५ वर्ष हुने दावी छ ।
६७ प्रतिशतले मात्र खानेपानीको सुविधा पाएको प्रदेशमा ५ वर्षभित्र सत प्रतिशतले खानेपानी सुविधा पाउने पनि आंकलन गरिएको छ । प्रदेशको साक्षरता दर झण्डै ९५ प्रतिशतभन्दा बढी हुनुका साथै ९५ प्रतिशत जनसंख्यामा विद्युत् सेवाको पहुँच पुग्ने आयोगले सार्वजनिक गरेको आधारपत्रमा उल्लेख छ । आयोगले परियोजना बैंकको सञ्चालन तथा कार्यविधि पनि बनाएको छ । परियोजना बैंक सञ्चालनको लागि सफ्टवेयरको समेत विकास गरिएको छ ।
हेर्नुहोस् आजका दैनिक पत्रिकाको पहिलो पृष्ठ