मर्यादाक्रमको तेस्रो तहमा प्रदेशसभा सदस्य
गुगलपाटी संवाददाता हेटौंडा,२९ चैत्रप्रदेश तीनको मन्त्रीपरिषद बैठकले प्रदेशसभा सदस्य तेस्रो तहमा रहने निर्णय गरेको छ । बिहीबार साँझ बसेको बैठकले मर्यादाक्रममा तेस्रो तहमा रहने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले बताए ।
‘मर्यादाक्रममा प्रतिनिधिसभा सदस्य, राष्ट्रिय सभा सदस्य र त्यसपछि प्रदेशसभा सदस्य रहने निर्णय भएको छ’, उनले भने ।
मन्त्रीपरिषद बैठकले आकस्मिक कोष ऐन २०७४ विधेयक समस्यौदा गर्न सो सम्बन्धि अवधारणा पत्र र बिनियोजित ऐन २०७४ विधेयक मस्यौदा गर्न सो सम्बन्धि पत्र स्वीकृत गरेको छ । प्रदेश सभा सचिवको योग्यता, काम कर्तब्य तथा अधिकार सम्बन्धमा बनेको विधेयकको मस्यौदा विधेयक २०७४ पनि पारित गरेको छ ।
साथै बैठकले सवारी साधन खरिद सम्बन्धमा मापदण्ड निर्धारण गरेको छ भने संचित कोष कार्यबिधि स्वीकृत र प्रादेशिक दुग्ध विकास बोर्ड ऐन विधेयक मस्यौदा पनि स्वीकृति गरिएको प्रवक्ता ढुङ्गेलले बताए ।
प्रदेश तीनको पहिलो नीति कार्यक्रम वैशाख ११ गते सार्वजनिक गरिने समेत जानकारी दिए ।