पटके सवारी कर नउठाउन हेटौंडा उपमहानगरपालिकालाई अदालतको अन्तरिम आदेश

गुगलपाटी संवाददाता
४ चैत्र २०७५ ०३:२६

हेटौंडा–हेटौंडा उपमहानगरपालिकाले हेटौंडा–१७ चुनडाँडामा उठाउँदै आएको पटके सवारी कर खारेज गर्न अदालतले निषेधाज्ञायुक्त परमादेश जारी गरेको छ ।

उपमहानगरले उठाउँदै आएको पटके सवारी कर सम्बन्धी व्यवस्था संविधान र कुनै पनि कानुनमा नभएको भन्दै कर उठाउने कार्य बन्द गर्न उच्च अदालत पाटन , हेटौंडा इजलासले आदेश जारी गरेको हो । न्यायधीश टेकराज नेपाल र कृष्ण गिरीको संयुक्त इजलाशले आइतबार उपमहानगर र कर उठाउने ठेक्का पाएको गणेश कन्स्ट्रक्सनलाई कर नउठाउन आदेश दिएको हो ।

कन्स्ट्रकसनले वार्षिक ४० लाखको ठेक्कामा चुनडाँडामा पटके सवारी कर उठाइरहेको छ । उच्च अदालत नियमावली २०७३को नियम ४२ (१) बमोजिम निवेदनको टुंगो नलागेसम्म पटके सवारी कर नलिन आदेशमा भनिएको छ । अधिवक्त ईश्वरराज ढकालले हेटौंडा बसपार्क र चुनडाँडामा सवारी कर उठाइनु कानुन विपरित भएको दावी गर्दै अदालतमा निवेदन दिएका थिए । बसपार्कमा उठाइरहिएको मर्मत सम्भार शुल्क नियम संगत भएको भन्दै कुनै आदेश दिनुनपर्ने अदालतले जनाएको छ ।