लोकतन्त्रमा मिडियाको भूमिका महत्वपूर्णः तिमल्सिना
गुगलपाटी संवाददाताराष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले लोकतन्त्रको स्थायित्व र आर्थिक समृद्धिको लागि मिडियाको भूमिका महत्वपूर्ण हुने बताएका छन् । मिडियाले सत्य तथ्य र निष्पक्ष भई विकास र समृद्धिको पक्षमा कलम चलाउनुपर्नेमा उनले जोड दिए ।
मंगलबार हेटौंडामा अनलाइन पत्रिका तु–खबर डटकमको दोस्रो वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष तिमल्सिनाले नेपाललाई समृद्धिको दिशामा अघि बढाउन सबै एकजुट हुनुको विकल्प नभएको बताएका हुन् । ‘देशको विकासको लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ, सरकारको लक्ष्यलाई सञ्चार माध्यमको साथ अपरिहार्य छ, न्याय र समानतासहितको समृद्धि हासिल गर्न सबै जुट्नु जरुरी छ ।’ तिमल्सिनाले भने ।
सञ्चार माध्यम र पत्रकारलाई सरकारले कुनै पनि अंकुश लगाउनु नहुनेमा जोड दिँदै उनले सञ्चार माध्यममाथि बाधा पर्ने कानुन निर्माण नहुने उनले प्रतिवद्धता जनाए । ‘केन्द्र तथा प्रदेश सरकारले बनाएका सञ्चार सम्बन्धी विधेयकमा वाक स्वतन्त्रता तथा अधिकार कटौती भएको भन्ने केही गुनासो सुनिन्छ तर, लोकतन्त्रमा वाक स्वतन्त्रता तथा मिडियामाथि कुनै प्रकारको बन्देज लगाउनुहुन्न भन्ने पक्षमा हामी छौं, त्यस्तो कानुन बनेको भए पनि संंशोेधन गर्नुपर्छ ।’ तिमल्सिनाले भने ।
सञ्चार माध्यमहरुले अहिले नकारात्मक कुराहरुलाई मात्र सुन्ने गरेको गुनासो गर्दै विकास र समृद्धिसँग जोडिएका सकारात्मक कुराहरुलाई पनि सञ्चार माध्यममार्फत जनतालाई सुसुचित गर्न उनले आग्रह गरे । पत्रकारिता क्षेत्रले पनि समीक्षा गर्दै अघि बढ्नु जरुरी रहेको भन्दै उनले बदलिँदो नेपालमा पत्रकारिता जगत अझै जिम्मेवार हुनुपर्ने बताए ।
पत्रकारले लेख्ने समाचारमा हुने सानो त्रुटीले ठूलो असर पर्न सक्ने भएकाले जिम्मेवार भएर पत्रकारिता गर्न उनले सबैलाई आग्रह गरे । राष्ट्रियसभा सदस्यद्वय रामचन्द्र राई र रामनारायण बिडारीले सरकारको मिडियाले सधैं सरकारको नकारात्मक समाचार मात्र लेखेको भन्दै असन्तुष्टी जनाए । भएका सकारात्मक गतिविधिलाई पनि समाचारमा समेट्नुपर्ने उनीहरुको भनाइ थियो । ३ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले पत्रकारहरुले सत्य तथ्य र निष्पक्ष भएर समाचार नलेखेको आरोप लगाउँदै असन्तुष्टी व्यक्त गरे । ‘सकारात्मक पाटोेमा समाचार लेख्नुहोस्, नकारात्मक पाटोलाई मात्र किन बढी फोकस गर्नुहुन्छ ?’ जम्कट्टेलले भने ।
आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुुङ्गेलले लोकतन्त्रमा जथाभावी गर्ने छुट कसैलाई पनि नभएको भन्दै पत्रकारहरुले पनि सचेत भएर निष्पक्ष र तथ्यसहितको समाचार मात्र लेख्न आग्रह गरे । नेपाली काँग्र्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले लोकतन्त्रमा पत्रकारहरुले भयरहित र त्रासमुक्त भएर पत्रकारिता गर्न पाउनुपर्नेमा जोेड दिए ।
फरक प्रसङ्गमा स्थायी राजधानीको टुङ्गो नलागेसम्म ३ नम्बर प्रदेशको प्रदेशसभा नै चल्न नदिने उनले चेतावनी पनि दिए । कार्यक्रममा प्रदेशसभा सदस्य कुमारी मोक्तान, सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटा, पत्रकार महासंघका महासचिव रमेश विष्ट, पत्रकार ऋषि धमला, जिल्ला समन्वय समिति मकवानपुरका प्र्रमुख रघुनाथ खुलाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमकैबीच पत्रकार ऋषि धमला, रविन्द्र घिमिरे र शिवकुमार काशीलाई उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । दर्शन क्षेत्रीलाई उतकृष्ट रेडियो प्राविधिक पुरस्कार प्रदान गरिएको थियो ।