रवीन्द्र अधिकारी सवार होलिकोप्टर दुर्घटनामा फ्रान्सको चासो
गुगलपाटी संवाददातागत १५ फागुनमा ताप्लेजुङको तारेढुंगा सिस्नेभिरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको ज्यान जाने गरी भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना छानबिनमा फ्रान्सको दुर्घटना जाँच एजेन्सीले पनि सहभागी हुन चासो व्यक्त गरेको छ ।हेलिकोप्टर दुर्घटनाबारे गठित आयोगलाई हेलिकोप्टर निर्माता कम्पनी एयरबस युरोकोप्टर रहेको देश फ्रान्सको दुर्घटना जाँच एजेन्सी ९ब्युरो अफ इन्क्वाइरी एन्ड एनलाइसिस फर सिभिल एभिएसन सेफ्टी०ले पनि दुर्घटनाको अनुसन्धानमा सहभागी हुन चासो व्यक्त गरेको हो ।
आयोगका संयोजक यज्ञप्रसाद गौतमले फ्रान्सेली जाँच एजेन्सीले सहभागिताका लागि खबर पठाएको र त्यसबारे के गर्ने भन्नेमा आयोग सकारात्मक रहे पनि निर्णय भने भइनसकेको जानकारी दिए । कुनै पनि जहाज उत्पादक कम्पनीले आफूले उत्पादन गरेका जहाज दुर्घटना भएको अवस्थामा हुने जाँचमा सहभागी हुन पाउने मापदण्ड आइकाओले निर्धारण गरेको छ ।
आयोगका संयोजक गौतमले छानबिनमा हेलिकोप्टर निर्माता कम्पनी रहेकै देशको जाँच एजेन्सीलाई सहभागी गराउँदा अनुसन्धान थप प्रभावकारी हुने भन्दै उसको सहभागिताका लागि आफूहरू सकारात्मक रहेको बताए । फ्रान्समा हवाई दुर्घटना भएको खण्डमा अनुसन्धान गर्ने बेग्लै स्थायी प्रकृतिको निकाय छ । जसले कुनै पनि हवाई दुर्घटना भएमा अनुसन्धान गर्छ र सुधारका आवश्यक कदमका लागि सिफारिस गर्ने गर्छ ।
ब्ल्याकबक्स हुँदैन हेलिकोप्टरमा
ठूला आकारका जहाजमा जस्तो हेलिकोप्टरमा क्याप्टेन र एयर ट्राफिक कन्ट्रोलरबीच हुने संवाद रेकर्ड गर्ने ब्ल्याकबक्स हुँदैन । त्यसकारण अन्य जहाज दुर्घटनामा ब्ल्याकबक्स भेटेमा अनुसन्धानको आधार फेला पर्नेजस्तो अवस्था हेलिकोप्टर दुर्घटनामा रहँदैन । नागरिक उड्डयन हवाई सुरक्षा तथा गुणस्तर विभागका अधिकारीका अनुसार अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओले जहाजको तौल र निर्मित मितिका आधारमा ब्ल्याकबक्स राख्नुपर्ने व्यवस्था गरेको छ । आइकाओको मापदण्डअनुसार हेलिकोप्टरमा भने ब्ल्याकबक्स राख्न नपर्ने ती अधिकारीले जानकारी दिए । त्यसैले ताप्लेजुङमा दुर्घटना भएको हेलिकोप्टरमा पनि ब्ल्याकबक्स थिएन ।
ब्ल्याकबक्समा जहाजको क्याप्टेन र एयर ट्राफिक कन्ट्रोलर एटिसीबीच भएको संवाद रेकर्डका रूपमा रहन्छ । त्यस्तै क्याप्टेन र पाइलटबीच हुने संवाद पनि उक्त मेसिनले रेकर्ड राख्छ । ब्ल्याकबक्स जहाज दुर्घटना हुँदा निस्कने आगोबाट समेत नबिग्रने गरी बनाइएको हुन्छ । त्यसैले जहाज दुर्घटना भएलगत्तै ब्ल्याकबक्स खोजी गर्ने गरिन्छ । ब्ल्याकबक्समा रेकर्ड भएको संवादलाई नै दुर्घटनाको छानबिनमा महŒवपूर्ण आधारका रूपमा लिने गरिन्छ ।
क्याप्टेनको संवाद खोज्दै आयोग
आयोग हेलिकोप्टरका क्याप्टेनले दुर्घटनास्थलबाट सबैभन्दा नजिक रहेको ताप्लेजुङ विमानस्थलको टावरसँग गरेको संवादको खोजी गर्ने क्रममा रहेको आयोगका एक सदस्यले जानकारी दिए । उडानका क्रममा क्याप्टेनले नजिकको विमानस्थलको टावरसँग आफ्नो उडानको अवस्थाबारे जानकारी गराउने गर्छन् । दुर्गम भेगको उडानमा जाने हेलिकोप्टर भने कहिलेकाहीँ विमानस्थलको टावरको सम्पर्कभन्दा बाहिर पनि पुग्ने गर्छ । त्यस्तो अवस्थामा क्याप्टेनले बोलेका कुनै पनि कुरा रेकर्डमा रहँदैन । दुर्घटना हुने क्रममा क्याप्टेनले केही बोलेको हुन सक्ने भए पनि त्यसको रेकर्ड नहुने भएकाले दुर्घटनापछि संवाद अध्ययन गर्न नसकिने जानकारहरू बताउँछन् । तर, आयोगका एक सदस्यका अनुसार अहिलेसम्मको प्रारम्भिक जानकारीमा दुर्घटना भएको वेला क्याप्टेन र विमानस्थल टावरबीच संवाद नभएको जानकारी प्राप्त भएको छ ।
हेलिकोप्टरका प्राप्त पार्टपुर्जा झिकाइयो
आयोगले घटनाको गम्भीरतालाई ध्यान दिँदै अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठन ९आइकाओ०को मापदण्ड पालना गरेर अध्ययन अगाडि बढाइरहेको जनाएको छ । अध्ययनकै क्रममा ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीको सहयोगमा हेलिकोप्टरका केही महत्वपूर्ण र उपलब्ध भएका पार्टपुर्जासमेत राजधानी काठमाडौं झिकाइएको जाँच आयोगका संयोजक गौतमले जानकारी दिए । ती पार्टपुर्जा विशेषज्ञमार्फत अध्ययन गराइनेछ । सरकारले हेलिकोप्टर दुर्घटना भएकै दिन पूर्वसचिव गौतमको संयोजकत्वमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, नेपाली सेनाका सहायकरथी दीपकप्रसाद बास्तोला, अवकाशप्राप्त महासेनानी प्रमोद लामा सदस्य रहेको दुर्घटना जाँचबुझ आयोग गठन गरेको थियो । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।