नागरिकतामा उपनाम राख्न सकिने

गुगलपाटी संवाददाता
७ चैत्र २०७५ ०३:१०

काठमाडौँ — नागरिकतामा इच्छाअनुसार उपनाम राख्न पाइने भएको छ । प्रतिनिधिसभा राज्य व्यवस्था समितिको मंगलबारको बैठकले यस्तो सहमति जुटाएको हो ।

नागरिकतासम्बन्धी विधेयकमाथि दफावार छलफलका क्रममा भएको यो सहमतिले कुनै व्यक्तिले नामथरसँगै उपनाम पनि राख्न पाउने भएका हुन् । थर उल्लेख गर्न नचाहनेले नागरिकतामा आफूलाई उपनामबाट मात्र पनि चिनाउन सक्नेछन् । अहिले नागरिकतामा नाम र थर मात्र उल्लेख हुँदै आएको छ ।
समितिले यसअघि नै आमाको नामबाट नागरिकता लिँदा बाबुको पुस्ट्याइँ गर्नु नपर्ने, महिला, पुरुष र तेस्रोलिंगीले पनि आफ्नो पहिचानअनुसारको नागरिकता लिन सक्ने र लिंग परिवर्तन गर्नेले चिकित्सकीय प्रमाण पेस गरे बदलिएको पहिचान खुल्ने नागरिकता दिने प्रावधानमा सहमति जुटाइसकेको छ । समितिले नागरिकता कसुर दण्डको विषयमा पनि सहमति जुटाएको छ ।

विधेयकको दफावार छलफलमा भाग लिन गएका गृहमन्त्री रामबहादुर थापालाई केही सांसदले हालै सरकारले निर्धारण गरेको मर्यादाक्रमबारे प्रश्न गरेका थिए । सांसद प्रेस सुवालले बहालवाला सांसदभन्दा पूर्वमन्त्रीलाई माथिल्लो मर्यादामा राखिएको समाचार आएको प्रसंग उठाए ।

मन्त्री थापाले पूर्वमन्त्रीभन्दा बहालवाल सांसद नै मर्यादामा माथि रहने स्पष्टीकरण दिएका छन् । उनले नयाँ मर्यादाक्रम चाँडै राजपत्रमा प्रकाशित गर्ने जानकारी दिए । बैठकमा कांग्रेस सांसद अमरेशकुमार सिंहले प्रमाण नपुगी नागरिकता वितरण हुने गरेकाले त्यसमा कडाइ गर्न ध्यानाकर्षण गराएका थिए ।