उपाधि आयोजक मकवानपुर ११ लाई
गुगलपाटी संवाददाताहेटौंडामा जारी दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि आयोजक मकवानपुर ११ ले हात पारेको छ । घरेलु दर्शकको साथमा हेटौंडा–१० स्थित वन विज्ञान संस्थानको मैदानमा अफ्रिकी क्लव दाफिन्सँग प्रतिस्पर्धा गरेको मकवानपुर ११ ले २–१ गोल अन्तरले जित हात पारेको हो ।
मकवानपुरको लागि खेलको नौं र ८२ औं मिनेटमा गोल योगेश गुरुङले पेनाल्टी मार्फत गोल गरेका थिए । दाफिन्सको लागि एकमात्र गोल यानिक ओवानाले गोल गरेका थिए ।
उपाधिसँगै मकवानपुर ११ ले नगद आठ लाख रुपैयाँ, शिल्ड, ट्रफि र मेडल प्राप्त गरेका छन् । उपविजेता दाफिन्सले नगद चार लाख, शिल्ड, ट्रफि र मेडलमा चित्त बुझाउनु परेको छ । यस अघि चार वटा राष्ट्रिय प्रतियोगिताको उपाधि चुमिसकेको दाफिन्सले हेटौंडामा भने राम्रो प्रस्तुति दिन सकेन ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदै मकवानपुर ११ का गोलरक्षक अशोक बरालले नगद ५० हजार रुपैयाँ सहित ट्रफि प्राप्त गरे । साथै उनले उत्कृष्ट गोरक्षकको उपाधि सहित थप २० हजार रुपैयाँ समेत हात पारे । प्रतियोगितामा दाफिन्सका ओको बोटाले बेस्ट डिफेन्डर, मकवानपुर ११ का योगेश गुरुङले वेस्ट मिडफिल्डर र मकवानपुर ११ कै रेजिन सुब्बाले वेस्ट फरवार्डको उपाधि जित्दै नगद २० हजार रुपैयाँ प्राप्त गरे ।
उनीहरुलाई हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महत लगायतले पुरस्कार बितरण गरेका थिए । मकवानपुर फुटवल संघको आयोजनामा प्रतियोगिता भएको हो ।