तीन महिना पछि प्रदेश सभा वैठक बस्दै २ विधेयक, ३ संसोधन प्रस्ताव दर्ताहुने

गुगलपाटी संवाददाता
१७ चैत्र २०७५ ०३:५९

तीन नम्बर प्रदेश सभाको हिउदे अधिवेशन आईतवार बस्ने भएको छ । प्रदेश सरकारले आफुलाई ऐन निर्माणको क्रममा रहेको भन्दै आए पनि तीन महिनाको अवधीमा विधेयकको लागि भने खासै गृह कार्य गरेको देखिदैन । आज बस्ने प्रदेश सभाको वैठकमा पर्याप्त विजनेश नभएको देखिएको छ । तीन महिनापछि बस्न लागेको वैठकमा २ वटा मात्रै नयँ विधेयक दर्ता हुने तथा ३ वटा संशोधन प्रस्ताव दर्ता हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।
एक वर्षको अवधिमा प्रदेश सभाले २४ वटा विधेयक पास गरेर प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणित गरिसकेको प्रदेश प्रमुख कार्यालयले जानकारी दिएको छ । अबको प्रदेश सभाको बैठकमा ‘प्रदेश बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘प्रदेश सूचनाको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रदेश सभामा प्रस्तुत हुनेछ । ‘प्रदेश बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सामाजिक विकास मन्त्रालयले दर्ता गर्नेछ भने ‘प्रदेश सूचनाको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ आन्तरिक मामिला तथा कानुन मन्त्रालयले दर्ता गर्नेछ । प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन–२०७४, प्रदेशस्तरका केही सार्वजनिक लिखत प्रमाणीकरण ऐन २०७४ र कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धी ऐनमा संशोधन प्रस्ताव दर्ता हुने प्रदेश सभा सचिवायले जानाएको हो ।
यता ३ नम्बर प्रदेश सभा सदस्यहरुले भने लामो समय सम्म प्रदेश सभाको वैठक नबस्दा आक्रोश व्यक्त गर्दै आएका छन् । ३ नम्बर प्रदेशका नेपाली कांग्रेसका सांसद राजेन्द्र गुरुङले प्रदेश सभा लामो समय सम्म नहुदा सरकारको कामकारबाही विषयमा प्रश्न समेत राख्न नपाएको बताएका छन् । खुल्ला कार्यक्रममा राखेको प्रश्न सरकारले कति सुन्छ ? मिडियाले कत्ति बुझ्छ, त्यतिको भरमा मात्रै सांसदको भूमिका पुरा नहुने भन्दै उनले संसदमा कुरा उठाउन स्थान दिनुपर्ने बताए । यस्तै कांग्रेसकी प्रदेश सभा सदस्य विजुला वर्माले प्रदेशको अवस्थाको विषय संसदमा बोल्न मन भएपनि नपाएको गुनासो गरेकी छिन् । उनले सरकारले नाम र राजधानीको विषय टुड्डयाउनुपर्ने पनि बताएकी हुन् । यस्तै विवेकशील साझाका प्रदेश सभा सदस्य रमेश पौड्यालले संसद वैठक नहुदा आफ्नै दलको विषय र राष्ट्रिय तथा प्रदेशका विषयहरु समेत उठाउन नपाएको बताएका छन् ।