न गाँस न बास: बस्ने ठाउँ नहुँदा किरिया समेत स्थगित
गुगलपाटी संवाददातासोमबार राति ९ बजे । बाराको कलैया–१८ स्थित मारबालियाका २२ वर्षीय राजेन्द्र पटेल हुरीले ध्वस्त घरको भग्नावशेषनजिकै आगो ताप्दै थिए । भर्खरै मात्र उनी आफ्ना ५० वर्षीया आमा मनुरादेवी कुर्मीको दाहसंस्कार गरेर आएका हुन् । रीतअनुसार कपाल मुण्डन गरे, तर किरिया बस्ने ठाउँ नै पाएनन् । आइतबार साँझको हुरीले उनका दुवै घर ध्वस्त बनायो । घरले थिचेर आमाको घटनास्थलमै ज्यान गयो । उनीसँग अहिले ओत लगाउने ठाउँ छैन, त्यसैले आमाको किरिया कर्मलाई नै पछि सार्नुपर्यो ।
उनले भने, ‘हुरीले घर उडायो । छानोले थिचेर आमाको ज्यान गयो । दुवै घर ध्वस्त भए । आज दिनभर आमाको दाहसंस्कार गरियो । कपाल मुण्डन गरियो । किरिया बस्नुपथ्र्यो । घर छैन, कहाँ किरिया बस्ने ?’
मारबलियाका ६० वर्षीय बिर्जलाल चमारको ५० वर्षीया श्रीमती बढियादेवीको ज्यान पनि आइतबारको हुरीले लग्यो । सोमबार दिनभर बिर्जलालले श्रीमतीको दाहसंस्कार गरे । कपाल मुन्डन गरे । तर, घर हुरीले उडाएकाले उनले श्रीमतीको किरिया कर्म केही दिन पर सारेका छन् । सोमबार रातिको ९ः३० बजे ध्वस्त घरनजिकैको खाली ठाउँमा आगो ताप्दै गरेका उनले भने, ‘राति मच्छड आउँछ । झुल छैन । ओत लाग्न पाल छैन । खानलाई पानी छैन । यस्तो अवस्थामा श्रीमतीको किरिया गर्ने कुरो भएन ।’
मारबालियास्थित हुरीले ध्वस्त घरनजिकै लगाइएको एउटा पालमुनि १५ भन्दा धेरै महिला सुतेका थिए । २२ वर्षीय अनितादेवी काखे छोरालाई बर्कोले गुटुमुटु पारी छोप्ने प्रयास गर्दै थिइन् । घाइते छोराको टाउकोमा चोट प्रशस्तै देखिन्थ्यो । उनले केही भनिन्, तर बुझिएन । भाषा उल्था गर्दै छेउमा रहेकी उनकी साथीले बुझाइन्, ‘हुरीले थिचेर उनकी सासु बितिन् । छोरा र श्रीमान् पनि घाइते भए । बेघरबार भएपछि उनी पालमा बस्न पुगेकी हुन् । घर नभएपछि उनको पनि सासुको किरिया कर्म रोकिएको छ ।’
बारा फेटा गाउँपालिका–१ का २५ वर्षीय दिनेश शर्मा सोमबार राति करिब १० बजे घरको भग्नावशेष नजिकै आमा समीदेवीलाई सुताउने तरखर गर्दै थिए । आमा ७४ वर्षकी छन् । नजिकै थिए दिनेशकी श्रीमती र काखे छोरा । छोरा चिच्याइचिच्याई रुँदै थिए । भुइँ खाली थियो । ओछ्याउने केही थिएन । न ओढ्नेको कुनै व्यवस्था थियो । दुःखेसो गर्दै उनले भने, ‘हामीले केही पनि खाएका छैनौँ । खाना पकाउने भाँडा सबै हुरीले उडायो । पानी थापेर खाने गिलाससमेत छैन । ओढ्ने ओछ्याउनेको त कुरै छाडौँ । अब यही भुइँमा सुत्ने हो । लामखुट्टेले दुःख दिन्छ । पकाउने भाँडा सबै हुरीले उडायो । पानी थापेर खाने गिलाससमेत छैन । ओड्ने, ओछ्याउनेको त कुरै छाडौँ ।’
पूरै गाउँ अन्धकार
बारास्थित पथलैया–१८ र फेटा–१ स्थित विद्युत्का पोल हुरीले उडाएर क्षतविक्षत गरेको छ । हाइटेन्सन लाइनसमेत भत्काएर ध्वस्त भएको छ । गाउँ अन्धकार छ । अन्धकार हटाउन केहीले टुकी बालेका छन्, केही आगो फुकेर अँध्यारो हटाउने कोसिसमा छन् । मनगढवाका ३७ वर्षीय विनोद मण्डलले भने, ‘गाउँ पूरै अन्धकार छन्, बिजुली छैन । पोल ढल्यो, तार पनि ढल्यो ।’
२७ को मृत्यु, ६ सय ६८ जना घाइते, ज्यान गुमाउनेमा चार भारतीय
बारा–पर्सामा आइतबार गएको भीषण हावाहुरीबाट ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । गृह मन्त्रालयका अनुसार ज्यान गुमाउनेमा १२ पुरुष, १० महिला र ५ जना बालबालिका छन् । मृतक २७ मध्ये २५ जनाको सनाखत भएको छ भने दुईजनाको परिचय खुल्न बाँकी छ ।
ज्यान गुमाउनेमा फेटा गाउँपालिकाका १३ जना छन् । फेटा–१ का हरिनारायण दास, मनोरमा देवी, रुनी देवी, नन्द पटेल, फेटा–६ का रुबी खातुन, बिबीमा खातुन, मुस्तकिमा खातुन, मीना खातुन, अलिसा खातुन, सकिया खातुन, सम्सिधा खातुन, सबनम खातुन र नोक्सारा मियाँ छन् ।
त्यस्तै भवानीपुर–१ का राम माझी र सुरज माझी, पर्सौनी–४ का अक्षयलाल माझी र कलैया–१८ की गढीमा देवीले ज्यान गुमाएका छन् । सुवर्ण–८ की तरिफा खान, महागढीमाई–७ की कोइरी देवी, सुवर्ण–४ का श्रीप्रसाद यादवको पनि मृत्यु भएको छ । पर्सा जिल्लाका एकजनाले ज्यान गुमाएका छन् । वीरगन्ज–१८ का सरोज रामको मृत्यु भएको छ ।
ज्यान गुमाउनेमा चारजना भारतीय नागरिक छन् । जसमा राजेश मुखिया, अवधेश पासवान, हितलाल सहनी र राधे लोडी छन् । उनीहरू इँटाभट्टाका कामदार हुन् । दुईजनाको भने सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । हावाहुरीले ६ सय ६८ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए । जसमध्ये २ सय ८४ जना सामान्य उपचारपछि घर फर्किएका छन् ।
मन्त्रिपरिषद् निर्णय : पीडितको उपचार र आवास जिम्मा सरकारको
हावाहुरीबाट घाइते भएकाहरूको उपचार सरकारले गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले वास गुमाएकाको आवास पनि सरकारले नै बनाइदिने निर्णय गरेको छ । आवास निर्माणको मोडालिटी भने तथ्यांक संकलन र मूल्यांकनपछि मात्र निर्धारण हुनेछ । यसैगरी घटनास्थलमा राहत वितरणलाई तीव्रता दिने निर्णय पनि सरकारले गरेको छ । घटनास्थलमा महामारी फैलन नदिन स्वास्थ्यकर्मी परिचालन गर्ने तथा औषधिलगायत अत्यावश्यक सामग्री व्यवस्थापन गर्न निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ ।
हावाहुरी प्रभावित बारा र पर्साका गाउँमा चिकित्सक टोलीसहित प्रहरी खटिएको छ । प्रहरी प्रवक्ता उत्तमराज सुवेदीका अनुसार दुईवटा
मेडिकल टोली प्रभावित क्षेत्र पुगेको छ ।
यसैबीच, सेनाको सिमरास्थित २८ नम्बर बाहिनीले सोमबार बारा र पर्सामा उद्धार तथा अस्थायी बसोवास र खानपिनका लागि चार सय सैनिक परिचालन गरेको छ । सेनाको चण्डी दल, तारा दल गणसम्बद्ध सैनिक दिनभर खटिएका छन् । स्काई ट्रकबाट सेनाले नौ गम्भीर घाइतेलाई काठमाडौं ल्याएको छ भने एमआई १७ हेलिकोप्टरबाट राहत सामग्री पठाएको छ ।
सैनिक प्रवक्ता सहायक रथी यामप्रसाद ढकालले भने, ‘सर्जनसहितको टिम पनि बारा र पर्सामा पठाएका छौँ ।’ एउटा हेलिकोप्टर मध्य एयर बेस काठमाडौंमा तयारी हालतमा राखिएको उनले बताए । आजको नयाँ पत्रिकामा समाचार छ ।