कहिले पाउछन् त बृद्धबृद्धाले आफु नागरिक भएको प्रमाण ?

गुगलपाटी संवाददाता हेटौंडा
१९ चैत्र २०७५ ०५:२५

आफ्नै देशमा रहेर पनि मकवानपुरको हेटौंडामा रहेको ओम बृद्धाश्रमका बृद्धबृद्धाहरुले ६० बर्ष कटिसक्दा पनि आफू पनि यो देशको नागरिक भएको प्रमाण पाएका छैनन् । उमेरमै नागरिकता पाएर नागरिक भई बाँच्ने अवसर त विविध कारणले उनीहरुलाई नमिले ता पनि बृद्ध अवस्थामा समेत नेपाल सरकारले दिने बृद्धभत्ताबाट पनि बन्चित छन् । नेपालमै जन्मिएको, हुर्किएको अनि परिवारका अन्य सदस्यहरुको समेत नागरिकता भएको बताउने उनीहरु स्वयम्को भने नागरिकता छैन ।आश्रमका ११ जना बृद्धबृद्धाको नागरिकता नरहेको जनाइएको छ ।

नागरिकता नहुने बृद्धाहरु क्रमश हेटौंडा ११ घर भएकी ८१ बर्षकी रमा रुपाखेती (छोराको नागरिकता भएको) , हेटौंडा ५ सिचाईटोल घर भएकी शान्ती सापकोटा (दिमाखी अपाङ्ग), सिन्धुली कमलामाई नगरपालिका १६ घर भएकी ६३ बर्षकी गोमा काफ्ले रहेका छन् ।

त्यसैगरी बृद्धहरु क्रमश नुवाकोट २ घर भएका ६१ बर्षका केशव खड्का, विराटनगर ५ घर भएका ६५ बर्षका रामबहादुर बोहोरा, सिन्धुली रानीवास घर भएका ६२ बर्षका उद्धव खड्का (अपाङग) , तनहुँ घर भएका ६४ बर्षका दिलबहादुर थापा, आफ्नो घर र उमेर बताउँन नसक्ने राम यादव (अपाङ्ग), नुवाकोट घर भएका ७० बर्षका मोहनप्रसाद पौडेल, काभ्रे घुलिखेल घर भएका ६७ बर्षका कृष्ण तिमल्सिना रहेका छन् ।

आश्रमका अनुसार अर्का एकजना आफ्नो कुनैपनि परिचय दिन नसक्ने तर आश्रमले ‘अबोल अञ्जान’ भनेर बोलाउने नाम तय गरिएका व्यक्तिको पनि नागरिकता नभएको जानकारी प्राप्त भयो ।

उनीहरुमध्ये ४ जना विभिन्न किसिमका अपाङ्ग छन् । नागरिकता नभएकै कारण उनीहरुको अपाङ्गता परिचयपत्र समेत बनाउन सकिएको छैन । सरकारले दिने सामाजिक सुरक्षाभत्तादेखी अपाङ्गता परिचयपत्रका आधारमा पाईने सुविधासमेत उनीहरुले पाएका छैनन् ।
आश्रम व्यवस्थापन समितिका अध्यक्ष बुद्धीप्रसाद पौडेलले भने यसअधि पटक–पटक नागरिकता बनाउन पहल गरेतापनि आफ्नो पहलले सार्थकता पाउन नसकेको गुनासो गरेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष हरीराउतले पनि आफुले पहल गरेको तर नागरिकता बनाईदिन नसकेको बताए ।

यस विषयमा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्ले बृद्धआश्रममा गएर त्यहाँको अवस्थाबारे जानकारी लिई नागरिकता उपलब्ध गराउने बताएका छन् ।