प्रदेश नं. २ :  हुरीवाट प्रभावितहरुलाई चार कोठे घर बनाईदिने प्रदेश सरकारद्वारा घोषणा

गुगलपाटी संवाददाता जनकपुरधाम
२० चैत्र २०७५ १०:४६

प्रदेश २ सरकारले बारा र पर्सामा गएको हुरी प्रभावितहरुलाई चारकोठे घर र शौचालय बनाउने घोषण गरेको छ ।

प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले हुरीका कारण पूर्ण रुपमा क्षतिग्रस्त घरहरु बनाइदिने बताएका हुन । आगामी चार महिनाभित्रै सबै घर बनाइसक्ने उनको दाबी छ ।

अहिले हुरी पीडितहरु कष्टकर जीवन जीउन बाध्य भएको भन्दै यसप्रति प्रदेश सरकार गम्भीर रहेको बताए ।

त्रिपालमुनी रहेका पीडितहरुलाई गर्मीका कारण समस्या भइरहेको भन्दै उनले केहि दिनभित्रै टेन्टभित्र सारिने बताए । ‘प्रभावित क्षेत्रमा लामखुट्टेको प्रकोप अत्यधिक देखिएपछि झुल पठाइसकिएको छ’ मन्त्री यादवले भने, ‘घटना भएदेखि नै प्रदेश सरकार पीडितहरुका लागि काम गरिरहेको छ र यसलाई निरन्तरता दिइरहेको छ ।’

उद्दार सकिए लगतै राहत वितरण प्रभावकारी भएको भन्दै उनले सहयोग गर्नेहरुलाई धन्यवाद दिए ।

बुधबारको प्रदेशसभा बैठकले हाबाहुरीका कारण ज्यान गुमाउनेहरुप्रति श्रद्वाञ्जली व्यक्त गर्दै शोकसभा पारित गरेको छ । शोक प्रस्ताव पारित भएसँगै प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको सभामुख यादवले घोषणा गरेका थिए ।