मयुरधापमा विपद व्यवस्थापन सचेतना

गुगलपाटी संवाददाता
२१ चैत्र २०७५ ०२:१६

हेटौंडा–नेपाल रेडक्रस सोसाइटी हेटौंडा–१४ चुरियामाई उपशाखाको आयोजनामा बुधबारदेखि प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन सचेतना कार्यक्रम सुरु भएको छ ।

करिब ४० जना स्थानीयको सहभागितामा दुइदिने सचेतना कार्यक्रम सुरु भएको हो । रेडक्रसका चुरियामाई उपशाखा प्रमुख मोहनसिं मोक्तानको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मकवानपुरका मन्त्री खेमराज सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मकवानपुरका लेखापाल रामजी खतिवडा, जनज्योति मावि मयुरधापका प्रधानाध्यापक भोगेन्द्र लुइटेललगायतले मन्तव्य व्यक्त गरेका थिए । सचेतना कार्यक्रममा प्रशिक्षक हरिप्रसाद पौड्याल र केशव समर्पणले सहजीकरण गरिरहेका छन् ।

कार्यक्रम हेटौंडा–१४ नम्बर वडा कार्यालयको सहयोगमा भएको हो । आज बिहीबार चुरियामाई क्षेत्रका ४ वटा विद्यालयलाई हात हुने साबुन हस्तान्तरण तथा सचेतना कार्यक्रम समापन हुने उपशाखा सचिव विशाल अधिकारी आशुतोषले जानकारी दिए ।