रियल म्याड्रिड भ्यालेन्सियाको हातबाट २–१ ले पराजित
गुगलपाटी संवाददाता एएफपीजिनेदिन जिदानले गारेथ बेललाई बुधबार राति स्पेनी ला लिगामा सुरुदेखि खेलाएनन् । उनको रियल म्याड्रिड भ्यालेन्सियाको हातबाट २–१ ले पराजित रह्यो ।
म्याड्रिड – जिनेदिन जिदानले गारेथ बेललाई बुधबार राति स्पेनी ला लिगामा सुरुदेखि खेलाएनन् । उनको रियल म्याड्रिड भ्यालेन्सियाको हातबाट २–१ ले पराजित रह्यो । कमजोर खेलेको रियल हारका लागि हकदार थियो । जिदानले अन्तिमपल्ट लिभरपुलविरुद्ध युरोपेली च्याम्पियन्स लिगको फाइनलमा बेललाई बेन्चमा राखेका थिए । त्यति बेला वेल्स खेलाडीले मैदानमा प्रवेश गरेयता उत्कृष्ट प्रदर्शन गरे । तर यसपल्टको कथा त्यस्तो रहेन ।
भ्यालेन्सियाको जित प्रभावशाली रह्यो । उसका लागि जोनकालो गुडेस र इजक्वेल गरायले गोल गरे । यो जितपछि भ्यालेन्सिया तालिकाको शीर्ष चारबाट एक अंकको दूरीमा मात्र पछाडि रह्यो । रियलका लागि करिम बेन्जेमाले इन्ज्युरी समयमा गोल फर्काए पनि त्यो सान्त्वनामात्र रह्यो । सिजनमा खराब सुरुआतका बावजुत रियलविरुद्ध प्राप्त यो जितले भ्यालेन्सियाको स्थिति राम्रो भएको छ । अब उत्कृष्ट अन्त्यका लागि क्लबले प्रयास गर्न सक्नेछ ।
भ्यालेन्सियाले अब कोपा डे रेको फाइनलमा बार्सिलोनाविरुद्ध खेल्नेछ भने युरोपा लिगको अन्तिम १६ मा उसको प्रतिद्वन्द्वी भिल्लारियल छ । जिदानका लागि भने यो हार टिममा कता कमजोरी छ भनेर खोज्ने अवसर हुनेछ । तालिकामा रियल बार्सिलोनाभन्दा १३ अंकले पछाडि छ । गत सिजन जिदान प्रशिक्षक भएको बेला यही स्थितिमा रियल भने बार्सिलोनाको तुलनामा समान १३ अंकले अगाडि थियो । भ्यालेन्सियाविरुद्ध रियलको मध्यपंक्ति र रक्षापंक्ति दुवै कमजोर देखियो ।
सिटी पुनः शीर्षमा
लन्डन– पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटीले बुधबार राति इंग्लिस प्रिमियर लिगमा कार्डिफलाई सजिलै २–० ले हरायो । तालिकामा लिभरपुललाई उछिनेर फेरि शीर्ष स्थान कब्जा गर्यो । सिटीका लागि केभिन डी ब्रुयने र लेरोय सानेले गोल गरे । योर्गन क्लोपको टिमले शुक्रबार साउथह्याम्पटनको भ्रमण गर्नेछ । त्यस अगाडिसम्म कम्तीमा सिटी अगाडि रहनेछ । अब सिटीका लागि बढीमा यो सिजन १३ खेल रहेको छ । त्यसमा उसले ऐतिहासिक रूपमा थप तीन उपाधि जित्न सक्नेछ । सिटीसामु प्रिमियर लिगसँगै एफए कप र युरोपेली च्याम्पियन्स लिग जित्ने अवसर छ । क्लबले यसअघि नै फेब्रुअरीमा लिग कप जितिसकेको छ । लिगमा भने सिटीको ८० अंक भएको छ । यो लिभरपुलभन्दा एक अंक बढी हो । दुवै टिमले लिगमा ६ खेल खेल्ने बाँकी छ ।
अरु दुई प्रमुख खेलमा चेल्सीले ब्राइटनलाई २–० र टोटेनहमले क्रिस्टल प्यालेसलाई २९–० ले पराजित गरेर आफूमाथि रहेको दबाब मात्र कम गरेका छन् । यससँगै अर्को सिजनको च्याम्पियन्स लिगमा छनोट हुनका लागि प्रतिस्पर्धा पनि तीव्र भएको छ । प्रिमियर लिगको शीर्ष चार टोली अर्को सिजनको च्याम्पियन्स लिगमा छनोट हुन पाउने प्रावधानअनुरुप टोटेनहमको ६४, आर्सनल र चेल्सीको समान ६३ तथा म्यानचेस्टर युनाइटेडको ६२ अंक छ । अन्य टोलीले ३२ खेल खेलेको तुलनामा आर्सनलले एक खेल कम खेलेको छ ।
टोटेनहम पुनर्निर्माणमा रहेको ह्वाइटहार्ट लेनस्थित आफ्नो नयाँ रंगशालामा झन्डै ७ सय दिनपछि फर्कियो र पहिलो खेल खेल्यो । दक्षिण कोरियाली स्टार सन ह्युङ मिन टोटेनहमको नयाँ रंगशालामा पहिलो गोल गर्ने खेलाडी बने । उनको गोलमा पहिलो हाफमा अग्रता लिएको स्पर्सबाट क्रिस्टियन इरिक्सनले ८० औं मिनेटमा दोस्रो गोल थपे । दुवै गोल डिफ्लेक्टेड भएर सम्भव भएको हो । यू–१७ विश्वकप विजेता इंग्ल्यान्डको विङगर कालुम हडसन ओडोइलाई मौका दिएको चेल्सीले ओलिभर जिरुडको गोलमा ३८ औं मिनेटमा अग्रता लियो । पास उपलब्ध गराउने तिनै ओडोइ थिए । ६० औं मिनेटमा इडेन हाजार्डले दोस्रो र रुबेन लफ्टस चिकले ६३ औं मिनेटमा तेस्रो गोल थपे ।