डिभोर्ससँगै म्याकेन्जीको भागमा झण्डै ३६ अर्ब डलर
गुगलपाटी संवाददाता एजेन्सीबेजोस दम्पत्तिले गत जनवरीमा २५ वर्ष लामो वैवाहिक सम्बन्धमा पूर्ण विराम लगाउने घोषणा गरेका थिए । उनीहरुको डिभोर्सको घोषणासँगै दुनियाको सर्वाधिक धनी यो दम्पत्तिमा सम्पत्ति बाँडफाँडको लफडा हुने अनुमान गरिएको थियो । तर म्याकेन्जीले डिभोर्स पछिको सम्पत्ति बाँडफाँडमा निकै लचकता अपनाएको देखिन्छ ।
विश्वका सबैभन्दा धनी दम्पत्ति अर्थात् ट्रिलियन डलर कम्पनी अमेजनका मालिक जेफ बेजोस र उनकी पत्नी म्याकेन्जी बेजोसको सम्बन्ध विच्छेदले अन्ततः पूर्णता पाएको छ ।
जेफ र म्याकेन्जीले बिहिबार आ आफ्नो ट्वीटरमार्फत आफूहरुको वैवाहिक सम्बन्ध भंग गर्ने प्रक्रिया टुंगाएको घोषणा गर्दै विज्ञप्ती जारी गरेका छन् ।
आफ्नो विज्ञप्तिमा म्याकेन्जीले दम्पत्तिको नाममा वासिङ्टन पोष्ट र ब्लु ओरिजिन कम्पनीमा रहेको शेयरको अधिकार आफूले पूर्णरुपमा त्याग गरेको र अमेजन कम्पनीको शेयरमध्ये ७५ प्रतिशत जेफलाई छाडेको बताएकी छिन् ।
आफ्नो ट्वीटमा म्याकेन्जीले डिभोर्सको प्रक्रिया टुंगो लगाउने क्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै अब जेफसँग साथी तथा बच्चाहरुको अभिभावकको नयाँ अध्ययन सुरु गर्ने बताएकी छिन् ।
यस्तै जेफ बेजोसले आफ्नो ट्वीटमा भूतपूर्व पत्नी म्याकेन्जीको सहयोगका लागि आफू कृतज्ञ रहेको र म्याकेन्जीसँग आगामी दिनमा साथी तथा सह(अभिभावकको सम्बन्धका लागि आफू उत्साहित रहेको पनि बताएका छन् । उनले म्याकेन्जीको प्रसंसा गर्दै आफूले भविष्यमा सधै उनीबाट सिकिरहने पनि बताएका छन् ।
अब म्याकेन्जीको सम्पत्ति कति ?
बेजोस दम्पत्तिको नाउँमा रहेको शेयरमध्ये अब म्याकेन्जीको नाममा जम्मा २५ प्रतिशत मात्र शेयर रहनेछ । डिभोर्सअघि यो दम्पत्तिको नाउँमा अमेजनको कूल ७ करोड ८८ लाख कित्ता शेयर थियो । त्यो भनेको अमेजनको कूल शेयरको १६ प्रतिशत हो ।
दम्पत्तिको नाउँमा रहेको १६ प्रतिशतमध्ये म्याकेन्जीको नाउँमा २५ प्रतिशत गएसँगै अब म्याकेन्जी बेजोसको नाउँमा अमेजनको कूल शेयरको ४ प्रतिशत शेयर हुनेछ । त्यो भनेको हालको मूल्यमा ३५ अर्ब ९० करोड डलर हो ।
जेफ बेजोसको पहिलो नम्बर कायमै रहने
फोर्ब्सको पछिल्लो तथ्यांक अनुसार जेफ बेजोस कूल १ खर्ब ३१ अर्ब डलर सम्पत्ति सहित विश्वका सबैभन्दा धनी मानिस हुन् । उनको त्यो सम्पत्तिमा उनकी तत्कालीन पत्नी म्याकेन्जीको पनि हक थियो । डिभोर्ससँगै म्याकेन्जीको भागमा झण्डै ३६ अर्ब डलर परेको छ । यति हुँदा हुँदै पनि अमेजन कम्पनीको बढेको शेयरका कारण बेजोसको अमेजनमै १ खर्ब ७ अर्ब डलर बराबरको शेयर छ ।
उनको सम्पत्तिको रुपमा अन्य कम्पनीहरु पनि रहेका छन् । यी सबै जोड्दा दुनियाको सबैभन्दा धनी व्यक्तिको रुपमा बेजोसको पहिलो स्थान खल्बलिने देखिँदैन । किनकी बेजोसलाई पछ्याइरहेका दोश्रो स्थानका बिल गेट्सको कूल सम्पत्ति साढे ९६ अर्ब डलर मात्र रहेको छ । को सहयोगमा