मेरो कार्यकालभित्र मुस्लिम युनिभर्सिटी निर्माण हुन्छ :अन्सारी
गुगलपाटी संवाददाता हेटौंडामुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आफ्नो कार्यकालभित्र मुस्लिम युनिभर्सिटी निर्माण गरिने बताएका छन् । जामे मस्जित समिति हेटौंडाले शुक्रबार हेटौंडामा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उनले त्यसको लागि आवश्यक तयारी सुरु गरिएको बताए ।
अध्यक्ष अन्सारीले काठमाण्डौं सहित कम्तिमा तीन प्रदेशमा हज हाउस निर्माण गरिने समेत प्रतिबद्धता ब्यक्त गरे । ‘काठमाण्डौंमा व्यवस्थित र ठूलो र कम्तिमा ३ प्रदेशमा हाजीहरुलाई चाहिने सबै सुविधा उपलब्ध हुनेगरी हज हाउस निर्माण गर्नेछौं’,उनले भने ।
आउँदो नयाँ शैक्षिक सत्रबाट विद्यालय जाने उमेर समुहका सबै मुस्लिम बालवालिकालाई विद्यालय पठाउन अभियान सञ्चालन गरिने अन्सारीले बताए । ‘पर्दाभित्र रहने मुश्लिम महिला र बालिकाहरुलाई शिक्षामा समान अवसर प्रदान गर्न आयोगले विषेश पहल समेत गर्नेछ’,उनले भने ।
हेटौंडास्थित माजे मस्जिद समितिले गरेको स्वागत सम्मान कार्यक्रममा समितिका अध्यक्ष जावेद हुसेन, उपाध्यक्ष कैयस अन्सारी, उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य राजकुमार न्यौपाने, हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा अध्यक्ष नविन सिग्देल, मुस्लिम युवा समिम खान लगायतले मुस्लिम समुदायको समस्या र आयोगले खेल्नुपर्ने भूमिकाका बारेमा बोलेका थिए ।