आजका पत्रपत्रिकाः कर्मचारी कुर्दैमा हैरान स्थानीय तह

गुगलपाटी संवाददाता
२५ चैत्र २०७५ ०१:२७

३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले विभिन्न प्रसङ्गलाई प्राथमिकताका साथ पहिलो पृष्ठमा लेखेका छन् । आन्दोलनकर्ताले नै जनआन्दोलन दिवसलाई बिर्सिएको, प्रदेशसभा बैठक आज बस्दै, सूचनाको अधिकार बलियो बनाउन ज्ञापन, गाँजाको निहुँमा भीम्फेदी कारागारमा झडप, देशभर भिटामिन ए र जुकाको औषधि खुवाइंदैलगायतका समाचार आजका दैनिक पत्रिकाले छापेका छन् ।

स्थानीय तहमा कर्मचारी नहुँदा समस्या भएको समाचार आजको हेटौंडा सन्देश दैनिकले छापेको छ । सबै स्थानीय तहलाई स्थानीय सेवा ऐन निर्माण गरी प्रदेश लोकसेवा आयोगको अनुमतिमा स्थायी र करारमा कर्मचारी भर्ना गर्न पाउने अधिकार छ । मकवानपुरको कैलाश गाउँपालिकाबाहेकका गाउँपालिकाले स्थानीय सेवा ऐन निर्माण गरेका छैनन् ।

‘संघीय सरकारबाट कर्मचारी कुर्दाकुर्दै विकास गर्न नसक्ने अवस्था भयो, अब हामी आफैं कर्मचरी नियुक्त गर्ने तयारीमा छौं ।’ गाउँपालिका अध्यक्ष टंक मोक्तानले भने । प्रदेश सरकारले प्रदेश लोकसेवा आयोग गठन नगर्दा तत्काल कर्मचारी भर्ना गर्न नसकिएको उनले बताए । कर्मचारी समायोजनपछि स्थानीय तहमा कर्मचारी रित्तिएपछि स्थानीय तहले आफैंले कर्मचारी नियुक्त गर्न तयारी गरेको हो ।

हेर्नुहोस् आजका दैनिक पत्रिकाको पहिलो पृष्ठ