देउवा निवासमा बसेको बैठकमा विभाग गठनमा सहमति जुटाउने प्रयास
गुगलपाटी संवाददाता काठमाडौंआज बिहान बूढानीलकण्ठस्थित सभापति देउवा निवासमा बसेको पदाधिकारी बैठकमा विभाग गठनका लागि छलफल भएको छ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार कार्यसम्पादन समितिको टुंगो लगाउने प्रयासमा लागि सहमति जुटाउन प्रयास गरेका हुन् ।
पार्टीको नयाँ विधानअनुसार २८ केन्द्रीय विभाग छन् । तेह्रौँ महाधिवेशन सम्पन्न भएको तीन वर्ष पुगिसक्दा पनि केन्द्रीय विभाग हालसम्म गठन हुन सकेका छैनन् । बैठकमा कार्य सम्पादन समिति गठन, संसदीय बोर्ड गठन, केन्द्रीय विभाग गठनलगायत कार्यसूची थियो ।
त्यस्तै पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठन सम्बन्धमा शीर्ष नेताबीच सङ्ख्यामा सहमति भए पनि नामका बारेमा समेत आजको बैठकमा छलफल भएको थियो । काङ्ग्रेसको नयाँ विधानअनुसार कार्यसम्पादन समितिमा पदाधिकारीबाहेक ३१ सदस्य चयन हुने प्रावधान छ । बैठकमा सभापति देउवा, वरिष्ठ नेता पौडेल, उपसभापतिद्वय विजयकुमार गच्छदार र निधि, महामन्त्री डा।शशाङ्क कोइराला, प्रवक्ता शर्मालगायत उपस्थित रहेका थिए ।