यु–१६ क्रिकेटमा प्रदेश नम्बर ३ च्याम्पियन
गुगलपाटी संवाददाता
काठमाडौंः प्रदेश नम्बर ३ ले यू–१६ क्रिकेट लिगको उपाधि जितेको छ । सोमबार भएको फाइनलमा प्रदेश नम्बर ५ लाई ३३ रनले पराजित गर्दै प्रदेश ३ च्याम्पियन बनेको हो । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ३ ले ३० ओभरमा ५ विकेट गुमाएर १६२ रन बनाएको थियो ।
प्रदेश ३ का लागि अविशेख उपाध्यायले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै प्रशान्तले ३४ तथा दिपक बोहराले ३० रन बनाए । प्रदेश ५ का रमेश कुर्मी र सुरज खड्काले समान २÷२ विकेट लिए । प्रदेश ३ ले दिएको १६३ रनको लक्ष्य पछ्याएको प्रदेश ५ ले ३० ओभरमा ८ विकेट गुमाएर १३९ रन बनाउन सक्यो । प्रदेश ५ का लागि विशाल बिक्रम केसीले ४४ तथा अमर मिश्रले २९ रन बनाए । प्रदेश ३ का दिपक बोहरा र विवेक दराईले २÷२ विकेट लिए ।