अझै दुईदिनसम्मै बर्षा हुने, पूर्वी र मध्य तराईमा हुरीबतासको सम्भावना

गुगलपाटी संवाददाता काठमाडौं
२६ चैत्र २०७५ ०५:४२

 मौसम पूर्वानुमान महाशाखाका अनुसार, मंगलबार हिमाली भेगमा हिमपातको समेत सम्भावना छ । बुधबार बिहान भने वर्षाको सम्भावना नरहेको मौमसी बुलेटिनमा उल्लेख छ ।

यद्यपि, अपराह्नपछि भने मेघ गर्जनसहित हल्का वर्षा हुनसक्ने अनुमान महाशाखाले गरेको छ । पूर्वी तथा मध्य तराईमा आँधीहुरी चल्ने प्रक्षेपण जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ । एक सातादेखि देशका अधिकांश भूभागमा जारी वर्षा अझै केही दिन यथावत रहने माहाशाखाले जनाएको छ ।

तर, महाशाखाले मंगलबार ३ दिने बुलेटिन सार्वजनिक गर्दै देशका अधिकांश भागमा वर्षा तथा हावाहुरी चल्ने प्रक्षेपण गरेको छ ।
मौसमविद मञ्जु बासीले भनिन्, ‘छिटोछिटो मौसमी प्रणाली विकसित भइरहेको छ । फेरि नयाँ प्रणालीले अहिले पानी पारिरहेको छ ।’

मौसमविदहरुका अनुसार नेपालमा सामान्यता मार्च, अप्रिल र मेसम्म प्रिमनसुन गतिविधि हुन्छ र जुन १० बाट मनसुन सुरु हुन्छ । अघिल्लो वर्षसँग तुलना गर्दा यस वर्ष प्रिमनसुन असामान्य तरिकाले सक्रिय छ ।

बिहीबार पनि देशका पूर्वी र मध्य भाग वर्षाकै चपेटामा रहनेछन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार, बिहीबार यी स्थानमा मेघ गर्जनका साथ हल्का वर्षाको सम्भावना छ ।