तँलाई मार्न ५० लाख रकम लिईसके….अब बाच्दैनस भन्दै सांसद लिङ्देनलाई फोन

गुगलपाटी संवाददाता
२६ चैत्र २०७५ १०:१६

मंगलबार दुई सातादेखि धम्की मिश्रित फोन आइरहेको झापा क्षेत्र नं. ३ का सांसद राजेन्द्र लिङ्देन बताएका छन् । केही दिनदेखि तनावमा रहेका उनी करिब एक साताको मौनतापछि ‘कसैले ५० लाखको लोभमा ममाथि गोली चलाउन सक्ला ?’ भन्दै ट्वीट गरेपछि कतिपयले उनको तनावको पूर्वमान लगाए ।

‘तँलाई मार्न ५० लाख रकम दिइसकेको छु । अब बाँच्दैनस्’ भन्दै कहिले ह्वाट्स एप त कहिले मोबाइलमा फोन गरेर आउने गरेको छ । ‘एउटा आवाजबाट मलाई धम्की दिइन्थ्यो भने अर्को आवाजबाट मलाई मार्न पैसा दिएकाले सचेत हुन भनिन्थ्यो’, लिङ्देनले भन्छन् ।

उनका अनुसार काठमाडौंमै भएका वेला त्यो फोन आएपछि उच्च प्रहरी अधिकारीसँग छलफल पनि गरेका रहेछन् । यद्यपि, लिखित उजुरी भने दिएनन् ।

प्रहरीले गरेको सुक्ष्म अनुसन्धानको क्रममा झापाबाट एक जना व्यक्ति पनि पक्राउ परेका छन् । तर, उनले किन लिङ्देनलाई त्यसरी फोन गरे भन्ने खुलेको छैन ।

दुई जनाको स्वरमा फोन गरिए पनि दुवै व्यक्ति एकै भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । घटनामा अन्यको पनि संलग्नता हुने आशंकामा अनुसन्धान भइरहेको छ ।