मृत्यु भएको १८ घण्टा बित्दा पनि आफन्तले शव बुझ्न नमानेपछि
गुगलपाटी संवाददाता रुपन्देहीरुपन्देहीको बुुटवलस्थित सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा)मा उपचारको क्रममा बालकको मृत्यु भएको छ । मृत्यु भएको १८ घण्टा वितिसक्दा पनि अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै आफन्तले शव भने बुझ्न मानेका छैनन् ।
सोमबार साँझ ७ बजे बुुटवल उपमहानगरपालिका ११ का नारायण दर्लामीका दश महिनाका छोरा ओमको मृत्युु भएको थियो ।
मृतकका बुवा नारायणले समयमा डाक्टर नआउदा छोराको मृत्यु भएको दाबी गरे । उनले भने आम्दा अस्पताल बच्चाहरुको क्षेत्रमै राम्रो र सुविधा सम्पन मानिएता पनि यस्ता केसहरु पटक पटक हुने भएकाले उचित क्षतिपूर्ति र दोषीलाई कारवाही हुनुपर्ने माग गरे ।
अस्पताल पुर्याएको एक घण्टामै बालकको मृत्युु भएको थियो । अस्पतालका चिकित्सक डा. सन्तोष पोखरेलले वान्ता सर्केर मृत्युु भएको हुुन सक्ने बताए । उनले भने, ‘हामीले बिरामीलाई आउनेवित्तिकै सिरिन्जबाट औषधि दिएका थियौं । तर, निमोनिया भएको रहेछ । वान्ता गर्दा सर्केर मृत्यु भएको हुुन सक्छ ।’
परिवारका अनुसार ओम केही दिनदेखि बिरामी भएका थिए । रोगले च्याप्दै लगेपछि आइतबार बुुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइएको थियो ।
अस्पतालले त्यहाँबाट भैरहवास्थित मेडिकल कलेज रिफर गरेको थियो । मेडिकल कलेजले फेरि बालकलाई अम्दामा रिफर गरेको थियो ।
अस्पताल प्रमुख डा. बिनोद पराजुलीले नर्सहरुले औषधि चलाउँदै गर्दा डाक्टरहरु आएको बताए । उनले भने, ‘अस्पतालको दोष छैन, उहाँहरुले क्षतिपूर्ति मागिरहुन भएको छ । हामीले दिनसक्ने अवस्था छैन । बरु छानविन कमिटी बनाउन सकिन्छ ।’