आजका पत्रपत्रिकाः हेटौंडा अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने

गुगलपाटी संवाददाता
२७ चैत्र २०७५ ०१:३९

३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले विभिन्न प्रसङ्गलाई प्राथमिकताका साथ पहिलो पृष्ठमा लेखेका छन् ।

हेटौंडा–१४ मा नयाँ औद्योगिक क्षेत्रको वातावरण प्रभाव मूल्यांकन (ईआइए) सकिएको, सहिद स्मृति मकवानपुर गोल्डकप फुटबलबाट २२ लाख रुपैयाँ नाफा, राजधानीको बारेमा प्रदेशसभामा चासो, ३ वटा विधेयकमाथि सैद्धान्तिक छलफल सकियो, विकास गर्न प्रदेश सरकार चुकेको प्रदेश सांसदहरुको भनाइलगाउतका समाचार आजका दैनिक पत्रिकाले पहिलो पृष्ठमा नै प्रकाशित गरेका छन् ।

३ नम्बर प्रदेश सरकारले प्रदेशस्तरीय स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको प्रक्रिया अघि बढाएको समाचार आजको साझाकुरा दैनिकमा छापिएको छ । हेटौंडा अस्पताललाई प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रुपान्तरण गर्ने गरी मदन कुमार भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको सम्बन्धमा व्यवस्थ ागर्न बनेको विधेयक प्रदेशसभामा पेश भएको छ ।

मंगलबारको प्रदेशसभा बैठकमा सामाजिक विकास मन्त्री युवराज दुलालले प्रतिष्ठानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गरेका हुन् । स्वास्थ्य विज्ञानको क्षेत्रमा अध्ययन, अध्यापन र अनुसन्धानको व्यवस्था गरी गुणस्तरीय र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दक्ष जनशक्ति उत्पादन गर्न र आम नागरिकलाई सर्वसुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि विज्ञान प्रतिष्ठान आवश्यक भएको प्रस्तावित विधेयकको प्रस्तावनामा उल्लेख छ ।

प्रतिष्ठानको कुलपतिमा मुख्यमन्त्री र सामाजिक विकास मन्त्री सहकुलपति हुने प्रस्ताव गरिएको छ । उपकुलपति नियुक्तिको सिफारिस गर्न सहकुलपतिको अध्यक्षतामा सभाका अन्य दुई जना सदस्य रहेको समिति गठन हुने विधेयकमा प्रस्ताव गरिएको छ । उपकुलपतिका लागि आवश्यक योग्यता, काम, कर्तव्य र अधिकार, पारिश्रमिक, सेवा तथा सुविधा लगायतका विषय तोकिए बमोजिम हुने प्रस्ताव गरिएको छ ।

विधेयकमा प्रतिष्ठानले स्वास्थ्य विज्ञानसम्बन्धी विभिन्न विषय अध्ययन, अध्यापन तथा अनुसन्धान गर्ने उद्देश्यले आवश्यकताअनुसार शैक्षिक संस्थाको स्थापना गर्न सक्ने प्रस्ताव गरेको छ । प्रतिष्ठानले कुनै शैक्षिक संस्थालाई सम्बन्धन दिन भने नपाइने प्रस्तावित विधेयकमा उल्लेख छ ।

विधेयक पास भई लागू भएपछि प्रदेशभित्रका अस्पताल सञ्चालन तथा व्यवस्थापन आदेशबमोजिम हेटौंडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति खारेज हुनेछ । प्रतिष्ठानका लागि प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷७६ को बजेटमा २ करोड रकम विनियोजन गरेको थियो ।
हेर्नुहोस् आजका दैनिक पत्रिकाको पहिलो पृष्ठ