प्रदेशसभा सांसद भन्छन्ः विकास गर्न प्रदेश सरकार चुक्यो
गुगलपाटी संवाददाताहेटौंडा– प्रदेश सरकारले विकास निर्माणमा महत्वपूर्ण काम गर्न नसकेको भन्दै ३ नम्बर प्रदेशका प्रदेशसभा सदस्यले सरकारको आलोचना गरेका छन् । मंगलबारको प्रदेशसभाको विशेष समयमा बोल्ने सत्तपक्ष तथा विपक्षका सांसदहरुले विकास निर्माणको काम गर्न नसकेकाले जनताले प्रदेश सरकारलाई गिज्याइरहेको टिप्पणी गरेका हुन् ।
आर्थिक वर्षको ८ महिना बितिसक्दा पनि विकास खर्च निकै न्युन रहेको भन्दै यसले सरकारलाई असफलतातिर धकेलिरहेको सांंसदहरुको भनाइ थियो । सांसद राधा घलेले प्रदेश सरकार गठन भएको १४ महिना बितिसक्दा पनि जनताले प्रदेश सरकारको अनुभुती गर्न नपाएको भन्दै आलोचना गरिन् ।
‘दुई तिहाई बहुमत प्राप्त सरकारले प्रदेशको स्थायी राजधानी र नामाकरण समेत गर्न सकेको छैन । विकास निर्माणको अवस्था कमजोर रहेको बारे त मुख्यमन्त्रीज्यू आफैंले स्वीकारिसक्नुभएको छ ।’ उनले भनिन्–‘सरकारलाई जनताले गिज्याइरहेका छन् ।’
सांसद् सिर्जना शैंजुले प्रदेश सरकारले बेलैमा काम नगरेर आवको अन्तिममा बजेट मात्र सक्याउने गरी काम गर्ने संकेत देखाएको भन्दै त्यसको विरोध गरिन् । ‘सबै हिसाबले प्रदेश सरकार पूर्णरुपमा असफल भइसकेको छ । अब जनताबाटै बहिष्किृत हुने अवस्था नआओस् ।’ उनले भनिन् । विशेष समयमा बोल्ने अर्का सांसद् रमेश पौड्यालले राष्ट्रपतिका लागि भवन निर्माण गर्ने भन्दै देशकै लामो इतिहास बोकेको प्रहरी तालिम केन्द्र भत्काउन लागिएको विषयमा यथार्थ सूचना संघीय सरकारले दिनुपर्ने माग गरे । विशेष समयमा सांसद् चेतनाथ सञ्जेलले हेटौंडा–काठमाडौं जोड्ने कान्तिराज पथ सडक छिट्टै स्तरोन्नतिको काम सम्पन्न गर्नका लागि प्रदेश सरकारमार्फत् दबाब सिर्जना गर्न जरुरी रहेको बताए ।
सांसद् हिरानाथ खतिवडाले प्रदेशको स्थायी राजधानी र नामाकरण अहिलेसम्म गर्न नसक्नु गलत भएको टिप्पणी गरे । सभामा मीना ज्ञवाली रिता माझी, ओम ग्लान, रत्नप्रसाद ढकाल, वेलीमाया घले तथा सरेश नेपाललगायतले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
प्रदेशसभाको मंगलबारको बैठकमा ३ वटा विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ । छलफल सकिएसँगै संशोधन दर्ताको लागि आह्वानसमेत भएको छ ।
सोमबारको प्रदेशसभामा पेश भएको प्रदेश बिउ बिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रादेशिक कृषि व्यवसाय प्रवद्र्धन गर्न बनेको विधेयक र प्रादेशिक व्यापार व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि मंगलबारको प्रदेशसभा बैठकमा सदस्यहरुले धारणा राखेका हुन् । सैद्धान्तिक छलफलमा दर्जनौं सांसदले प्रस्तावित विधेयक माथि आफ्नो भनाइ राखेका थिए ।
प्रदेशसभाको मंगलबारको बैठकमा समाजिक विकास मन्त्री युवराज दुलालले मदनकुमार भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गरेका थिए । प्रदेशसभाका अर्को बैठक आज बिहान ११ बजेलाई बोलाइएको छ ।