काठमाडौँ महानगरपालिका मार्फत निजी विद्यालयको शुल्क निर्धारण
गुगलपाटी संवाददाता काठमाडौँकाठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा रहेका संस्थागत (निजी) विद्यालयको शुल्क निर्धारण गरेको छ । आगामी शैक्षिकसत्रदेखि लागू हुने गरी महानगरको शिक्षा विभागले निजी विद्यालयलाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गमा वर्गीकरण गरी वर्गअनुसारको अधिकतम शुल्क लिन पाउने व्यवस्था गरेको हो ।
विद्यालय सञ्चालनको अवस्था र व्यवस्थालाई आधार बनाएर तोकिएका सूचकका आधारमा विद्यालय वर्गीकरण तथा शुल्क तोकिएको महानगरका शिक्षा अधिकारी निर्मला केसीले जानकारी दिए ।
समितिले शैक्षिकसत्र २०७६ को आधारभूत तह कक्षा १ देखि ५ सम्म ‘घ’ वर्गमा पर्ने विद्यालयको अधिकतम शुल्क रु एक हजार ६३० कायम गरेको छ । त्यस्तै ‘ग’ वर्गका विद्यालयको रु दुई हजार २४, ‘ख’ वर्गका विद्यालयको रु दुई हजार ४१८ र ‘क’ वर्गका विद्यालयको रु दुई हजार ८१२ निर्धारणको छ ।
आधारभूत तहकै कक्षा ६ देखि ८ सम्म ‘घ’ वर्गका विद्यालयको अधिकतम शुल्क रु एक हजार ९०१, ‘ग’ वर्गका विद्यालयको रु दुई हजार ३५१, ‘ख’ वर्गका विद्यालयको रु दुई हजार ८०१ र ‘क’ वर्गका विद्यालयको रु तीन हजार २५१ कायम गरिएको छ ।
माध्यमिक तहतर्फ कक्षा ९ र १० मा ‘घ’ वर्गमा पर्ने विद्यालयले रु एक हजार ५३७ अधिकतम शुल्क लिन पाउनेछन् । यसअघि त्यस वर्गका लागि अधिकतम शुल्क रु ८३८ थियो । त्यस्तै ‘ग’ वर्गका लागि तीन हजार ४९, ‘ख’ वर्गका लागि तीन हजार ७६२ र ‘क’ वर्गका लागि रु चार ३७३ अधिकतम शुल्क तोकिएको विभागका प्रमुख केसीको भनाइ छ । काठमाडौँ महानगरमा ९१ सामुदायिक र ६४५ संस्थागत गरी ७३६ विद्यालय छन् ।