अब सातैवटा प्रदेशमा कम्पनी रजिष्टार कार्यलयको शाखा

गुगलपाटी संवाददाता काठमाडौं
२८ चैत्र २०७५ ०६:४६

अब प्रदेश तीनमा पनि रजिष्ट्रार कार्यलयको शाखा खुल्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ७ वटै प्रदेशमा कम्पनी रजिष्ट्रार कार्यालयको शाखा खोल्ने भएको छ। प्रदेशगत रूपमा कम्पनी रजिष्ट्रारको कार्यालय हुँदा यसबाट व्यवसायी लाभान्वित हुने मन्त्रालयले जनाएको छ।

उद्योगी, व्यवसायीलाई व्यवसाय सञ्चालनमा सहजता प्रदान गर्न प्रदेशगत रुपमा शाखा खोल्ने योजना बनाएको मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले जानकारी दिए।

सो योजना अनुसार मन्त्रालयले प्रदेश १ र ५ मा कार्यालयको शाखा खोलिसकेको छ। त्यहाँ केही कर्मचारी समेत पठाइसकेको प्रवक्ता भट्राईले बताए।

‘प्रदेश १ र ५ मा कम्पनी रजिष्ट्रारको कार्यालय सञ्चालनमा आइसकेको छ, सातै प्रदेशमा फैलाउने योजनामा छौँ,’ प्रवक्ता भट्टराईले भने, ‘त्यसका लागि प्रदेशगत समन्वय भइरहेको छ।’

उनका अनुसार कम्पनी दर्ता, शेयर नामसारी लगायतका अधिकांश काम शाखा कार्यालयबाट हुन्छ। केही महत्वपूर्ण नीतिगत काम भने केन्द्रबाट नै हुने छ।