हात्तीको दाह्रा र कस्तुरीको बिनासहित पाँच जना पक्राउ

गुगलपाटी संवाददाता काठमाडौं
२८ चैत्र २०७५ ०८:५३

 प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले हात्तीको दाह्रा र कस्तुरीको बिनासहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको थाक्रे गाँउपालिका– १० का २५ वर्षीय विकास तामाङ, काभ्रेपलाञ्चोकको पनौती नगरपालिका– ३ का ३२ वर्षीय कुमार तामाङ लामा, नुवाकोटको ककनी गाँउपालिका– ६ का ३८ वर्षीय राजकुमार लामा, खोटाङ बाह्रपोखरी गाँउपालिका– ४ का ३१ वर्षीय फर्सुराम राई र बाग्लुङको ढोरपाटन नगरपालिका–९ घर भई काठमाडौं गोकर्णेश्वर बस्दै आएका ४० वर्षीय खीमबहादुर घर्ती मगर छन्।

सिआइबीले संरक्षित वन्यजन्तुहरूको आखेटोपहारहरू अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो। खीमबहादुरलाई गोंगबुस्थित बसपार्कबाट कस्तुरीको बिनासहित प्रहरीले पक्राउ गरेको हो भने बाँकी चार जनालाई हात्तीको दाह्रासहित सामाखुसीबाट पक्राउ गरिएको हो।

पक्राउ परेका चारै जनालाई कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको सिआइबीले जनाएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार उनीहरूलाई पाँच लाख रुपैँयादेखि दश लाख रुपैँयासम्म जरिवाना वा ५वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने प्रावधान रहेको छ।