पत्रकार बिरुद्ध नै किन खनिए पत्रकार

गुगलपाटी संवाददाता मकवानपुर,७ चैत
७ बैशाख २०७५ ०८:१४

नेपाल पत्रकार महासंघको प्रदेशको निर्वाचनको मिति समेत नजिकिदै गर्दा मकवानपुर पत्रकार महासंघको कार्यालय सहित केही स्थानमा तालाबन्दी गरिएको समाचार आएको छ ।

खासगरी नेपाल पत्रकार महासंघलाई साझा संगठन बन्न नदिने प्रयास भएको भन्दै विभिन्न सातओटा संगठनहरुले तालाबन्दी गरेका हुन् । नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्र निकट पत्रकार संगठनले महासंघमा सिन्डिकेट लगाएको भन्दै क्रान्तिकारी पत्रकार संगठन नेपाल, प्रगतिशील पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ, मिडिया नेपाल, प्रेस सोसाइटी, नेपाल, संघीय प्रेस फोरम र मधेसी पत्रकार समाज आवद्ध पत्रकारहरुले तालाबन्दी गरेका हुन् ।

प्रदेश निर्वाचन अन्तरगत आज उम्मेदवारी दर्ताको कार्यसूची रहेको छ । केन्द्रीय कार्यालयका साथै, तीन प्रदेश कार्यालय हेटौडा, पाँच नम्बर प्रदेशको रुपन्देही, चार नम्बर प्रदेशको पोखरा, कर्णाली प्रदेशको सुर्खेत, ७ नम्बर प्रदेशका धनगढी र एक र दुई नम्बर प्रदेश कार्यालयमा पत्रकारहरुले तालाबन्दी गरेका छन् । त्यसैगरी आन्दोलनरत पत्रकारहरुले भृकुटीमण्डपस्थित काठमाडौं शाखामा पनि तालाबन्दी गरेका छन् ।यसैबीच रुपन्देहीमा नेपाल पत्रकार महासंघका दुई जना केन्द्रीय सदस्य र जिल्‍ला अध्यक्ष कार्याभित्रै थुनिएका छन् । तालाबन्दी गर्न त्यहाँ पुगेको पत्रकारहरुले बाहिर निस्कन आग्रह गर्दा पनि नमानेपछि बाहिरबाट तालाबान्दी गरिएको हो ।

यता पत्रकार महासंघ मकवानपुर शाखामा पनि तालाबन्दी भएपछि निर्वाचन समितिले कार्यालय बाहिर रहेर आफ्नो निर्वाचनको कार्यतालिकालाई जारी राखेको पत्रकार महासंघ मकवानपुर शाखाले जनाएको छ । प्रदेश सभा निर्वाचनका लागि यही बैशाख २२ गतेको समय पत्रकार महासंघले तय गरेको छ । पत्रकार महासंघ पनि पहिलो पटक संघीय अभ्यासमा जान लागेको हो ।