ड्युटीमा खटिनु नपरोस् भनी सरकारी कर्मचारीको अनौठा बहाना, एक कर्मचारीमार्फत मोटी भएको बहाना
गुगलपाटी संवाददाता काठमाडौंभारतमा लोकसभा निर्वाचन चलिरहँदा ड्युटीमा खटिनु नपरोस् भनी सरकारी कर्मचारीले अनौठा बहाना बनाइरहेका छन् ।
कसैले युरिक एसिड बढेको बताएका छन् भने कसैले गाँठो परेकाले एक कदम पनि हिँड्न नसकेको भनेका छन् । एक बैंक कर्मचारीले भने आफू मोटी भएको बहाना दिएर चुनावी ड्युटीबाट हटाउन भनेकी छन् ।
बैंककी एक कर्मचारीलाई लोकसभा चुनावमा पीठासीन अधिकारी बनाइयो । बिहीवार बिहान उनी एडीएम फाइनान्सको कोठामा पुगिन् र भनिन्, ‘सर, तपाईंले देख्नुभकै छ, म कति मोटी छु । म कसरी चुनावमा ड्युटी गर्न सक्छु । कृपया मेरो ड्युटी काटिदिनुस् ।’ एडीएमले उनलाई मेडिकल बोर्डसमक्ष प्रस्तुत भएर स्वास्थ्य जाँच गराउनू भनेपछि उनी ड्युटीमा खटिन मानिन् ।
चुनावी ड्युटीबाट हट्नका लागि दर्जनौं कर्मचारीले अनेक किसिमका बहाना देखाएर कलेक्ट्रेटमा अधिकारीहरूसमक्ष रोइकराइ गरिरहेका छन् । मतदान ड्युटीका नोडल अधिकारी तथा एडीएम फाइनान्सेज अवनीश सक्सेनाले भने, ‘ठीक छ, तपाईंहरू निवेदन दिनुस् र मेडिकल बोर्डमा तपाईंहरूलाई पठाइनेछ । स्वास्थ्यजाँच गरिनेछ । मेडिकल बोर्डले जस्तो रिपोर्ट दिन्छ, त्यसैका आधारमा तपाईंले ड्युटी गर्ने कि नगर्ने निश्चित गरिनेछ ।’
एडीएमले चेतावनी पनि दिए, ‘ड्युटी र प्रशिक्षणबाट भाग्यौ भने कानूनी कारवाही गरेर घरमा प्रहरी पठाउँछु ।’ त्यसपछि रोइकराइ गर्ने कर्मचारी उनको कोठाबाट उठेर गए र भने, ‘मेडिकल बोर्डबाट स्वास्थ्य जाँच गराउने र चक्कर लगाउने भन्दा त हामी ड्युटी नै गर्छौं ।’
हिँड्दाहिँड्दै उनीहरूले अर्को एउटा निवेदन दिए र भने, ‘हाम्रो ड्युटी ग्रामीण क्षेत्रमा नराखिदिनुहोला ।’
मुटु, चिनीरोग, मिर्गौला, पेट, गोडाको पीडा, युरिर्क सिड, पाइल्स, हिँडडुल गर्न समस्या, आँखा नदेख्ने समस्या लगायतका बहाना बनाएर चुनावी ड्युटीबाट भाग्न खोज्ने कर्मचारीको संख्या ठूलो छ । एजेन्सी