काममा फर्किए सरकारी डाक्टर, अस्पतालका सबै सेवा खुला

गुगलपाटी संवाददाता
१ बैशाख २०७६ ०३:२८

नयाँ वर्ष २०७६ सालकाे सुरुवातसँगै आन्दोलन स्थगन गर्दै देशभरका सरकारी डाक्टर आफ्नो काममा फर्किएका छन्।

आइतबारबाट देशभरका सरकारी अस्पतालका सबै सेवा खुला भएका छन्। कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै सरकारी चिकित्सक संघ (गोदान) को नेतृत्वमा आन्दोलनरत देशभरका चिकित्सकले गत चैत १७ देखि आकस्मिकबाहेक आफू कार्यरत अस्पतालका सबै उपचार सेवा बन्द गरेका थिए। 

शनिबार राति सरकार र संघबीच भएको वार्तामा भएको सहमतिअनुसार चिकित्सक आन्दोलन फिर्ता गरेर काममा फर्कन राजी भएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको वार्तामा सरकारले समस्या समाधान का लागि १६ दिनको समय मागेकाले १५ दिनसम्म सरकारी अस्पताल बन्दको कार्यक्रम स्थगन गरिएको सरकारी चिकित्सक संघ गोदानले जनाएको छ।

कर्मचारी समायोजनमा चिकित्सकको दरबन्दी संघअन्तर्गत हुनुपर्ने माग राख्दै देशभरका करिब १४ सय सरकारी चिकित्सक गोदानको नेतृत्वमा आन्दोलनरत थिए।