नेपाल एयरलाइन्सले काठमाडौं–दिल्ली उडान थप्ने
गुगलपाटी संवाददाता काठमाडौंसरकारी स्वामित्वको नेपाल एयरलाइन्सले काठमाडौं–दिल्ली रुटमा अबदेखि दैनिक २ उडान गर्ने भएको छ। भारतीय वायुसेवा कम्पनी जेट एयरवेजले आर्थिक संकटमा परेर काठमाडौं–दिल्ली उडान बन्द गरेपछि नेपाल एयरलाइन्सले उक्त रुटमा उडान थप गर्ने भएको छ।
एउटा नियमित उडान बन्द हुँदा नेपाल आउने यात्रुलाई दिल्लीबाट काठमाडौं आउन असहज भएको र खाली भएकोबेला उपस्थिति बढाउन उडान थप गर्न लागिएको एयरलाइन्सका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए।
जेटले मे ५ सम्म काठमाडौं दिल्ली उडान बन्द गर्ने निर्णय गरेको छ। जहाजको लिज भाडा तिर्ने पैसा नै नभएपछि सबै अन्तर्राष्ट्रिय उडान स्थगन गरेको जेटले ठाउँ छाडेपछि त्यसको फाइदा उठान नेपाल एयरलाइन्सले हप्तामा ३ उडान थप गर्ने भएको छ।
उडान थप गर्न दिल्लीको विमानस्थलमा अनुमति लिनुपर्ने प्रक्रियाका कारण तत्काल उडान थप गर्न खोजे पनि केही समय लाग्ने उनको भनाइ छ।
यद्यपी यात्रुको चाप हेरी नेपाल एयरलाइन्सले अहिले एयरबस ए३३० वाइडबडी जहाज उडाएर धेरैभन्दा धेरै यात्रुलाई सेवा दिने रणनीति बनाएको छ। हाल हप्तामा ११ उडान गरिरहेको छ।