बादलले हेटौंडामा भने : व्यवस्था उल्ट्याउने सपना नदेखे हुन्छ

गुगलपाटी संवाददाता हेटौंडा
४ बैशाख २०७६ ११:४५

गृहमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य राम बहादुर थापा (बादल) ले पार्टी एकता ढिलाई भएको देखेर बर्तमान राज्य व्यवस्था उल्ट्याउने सपना देखेकाहरुको योजना बिफल बनाइने बताएका छन् ।

‘पार्टी एकता भाड्ने, सरकार असफल बनाउने र बर्तमान लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थालाई असफल बनाउनेगरी सत्रुहरु लागेका छन्’, बुधबार दिउँसो हेटौंडामा पार्टी नेता कार्यकर्ताहरुसँगको भेटमा उनले भने, ‘यी सबै योजनाहरुलाई बिफल बनाउदै हामीले समाजवादको आधार तयार पार्नुपर्छ ।’

त्यसको लागि सरकारले ल्याएको सुखी नेपाली,समृद्ध नेपालको नारामा गोलबद्ध भएर काम गर्न पार्टीका नेता कार्यकर्तालाई उनले निर्देशन दिए । साथै गृहमन्त्री थापाले वैशाख ९ गतेभित्र पार्टी एकताका बाँकी कामहरु पुरा हुने बताए । ‘चन्द्रागिरी बैठकको निष्कर्ष र सहमति पनि वैशाख ९ गते पार्टी एकता दिवसको दिन पार्टी एकतालाई पूर्णता दिने भन्ने छ’, थापाले भने, ‘विश्वास गरौं छिट्टै टुङ्गो लाग्छ ।’

कार्यक्रममा गृहमन्त्री थापाका राजनीतिक सल्लाहकार सुर्य सुवेदी (पथिक),प्रदेश ३ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेल,भूमी व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा,नेकपाका केन्द्रीय सदस्य केदार न्यौपाने,कुमारी मोक्तान,प्रदेशसभा ३ का सदस्यहरु प्रेम बहादुर पुलामी,मुनु सिग्देल लगायत पार्टी नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । दुई दिने सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न आज बिहान हेटौंडा आएका उनी कार्यकर्ता भेटघाटपछि काठमाण्डौं फर्किएका छन् ।