मोरङमा १७ थान अवैध हतियार बुझाए
गुगलपाटी संवाददाता मोरङ मोरङमा १७ थान अवैध हतियार बुझाएका छन्। गृह मन्त्रालयको निर्देशनपछि दिएको अन्तिम दिन बिहीबार विभिन्न प्रकारका हतियार जिल्ला प्रशासनमा बुझाएका हुन्।
मोरङ जिल्लामा ७ सय २३ जनाको नाममा दर्ता रहेको र म्यादभित्र २ सय १७ वटा मात्र हातहतियारको नवीकरण भएको कार्यालयका नायब सुब्बा तुलसीप्रसाद पौडेलले बताए।
२०७५ साल चैत १ गतेदेखि ३५ दिने सूचना जारी गर्दै गृहमन्त्रालयले विभिन्न हातहतियार बुझाउन निर्देशन गरेको थियो। सोही क्रममा मोरङमा १७ थान हतियार बुझाएको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए। जसमा भरुवा बन्दुक र २ नाले बन्दुक रहेका छन्।
मोरङमा नजिकको प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय,उर्लाबारी, बेलबारी लगायतका सुरक्षा निकायका कार्यालयमा हातहतियार बुझाएको उनको भनाइ छ।
प्रजिअ केसीका अनुसार, एकपटकलाई नेपाल सरकारले नवीकरण नगरेका र अवैध रुपमा रहेका हातहतियार बुझाउनलाई निर्देशन गरेको हो।
समयभित्र हातहतियार नबुझाएर पछि त्यस्ता हातहतियार भेटिएमा मुलुकी हातहतियार संहिता २०७२ अनुसार कार्वाही गरिने उनले स्पस्ट पारे।