७७ योजना २६ परियोजनाका लागि मात्र आवेदन पर्यो, ३१ परियोजनामा २५ खर्ब रुपैयाँ भन्दा बढीको लगानी प्रस्ताव
गुगलपाटी संवाददाता काठमाडौंलगानी सम्मेलनमा प्रस्तुत गरिएका ७७ योजनामध्ये वैशाख ७ गतेसम्म २६ परियोजनाका लागि मात्र आवेदन परेको छ । लगानी सम्मेलनमा प्रस्तुत गरिएको बाहेक अन्य ५ परियोजनाका लागि पनि लगानी प्रस्ताव आएको लगानी बोर्डले जानकारी दिएको छ ।
यी सबै ३१ परियोजनामा २५ खर्ब रुपैयाँ भन्दा बढीको लगानी प्रस्ताव भएको छ । अधिकांश परियोजनामा एउटामात्र प्रस्ताव परेको छ भने यातायात पूर्वाधारका योजनामा लगानीकर्ताको धेरै चासो देखिएको छ ।
चैत १५ र १६ गते काठमाडौंमा गरिएको लगानी सम्मेलनमा सरकारले ५० र निजी क्षेत्रले २७ गरी कुल ७७ परियोजना प्रस्तुत गरेका थिए । तीमध्ये २६ वटामा लगानी प्रस्ताव आएको हो ।
बोर्डका अनुसार निजगढ विमानस्थलमा ६, बाहिरी चक्रपथमा ४ वटा, धनगढी क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा २ वटा, भक्तपुरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका लागि दुईवटा प्रस्ताव परेका छन् ।
हालसम्म कृषि पूर्वाधारका ५ परियोजनामा ७ , स्वास्थ्य तथा शिक्षा पूर्वाधारका ३ परियोजनामा २, उर्जाका ७ परियोजनामा ८, उद्योग पूर्वाधारका एउटा परियोजनामा एउटा, पर्यटन पूर्वाधारका ३ परियोजनामा ३, यातायात पूर्वाधारका ९ परियोजनामा २२ तथा सहरी पूर्वाधारका ४ परियोजनामा ५ आवेदन परेको बोर्डले जनाएको छ ।