भारतीय प्रहरीको लोगो प्रयोग गरी लागुऔषध तस्कर
गुगलपाटी संवाददाता हेटौडामकवानपुर प्रहरीले भारतीय क्राईम ब्रन्चको उच्च पदस्थ अधिकारीको लोगो प्रयोग गरीएको सवारीमा भारतीय नागरिक अमरजितलाई ४८ किलो ८०० ग्राम लागुऔषध गाँजा सहित नियन्त्रणमा लिएको छ ।
वैशाख ६ गते दिउँसो विशेष सूचनाका आधारमा ३ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त टोलीले तिनताप्केमा मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको बिआर–३१ एम ५०५१ नम्बरको कारलाई रोकेर चेकजाँच गर्दा उक्त कारको सिटमुनि फल्स बटम बनाई आठ वटा पोकामा ४८ किलो ८०० ग्राम लागुऔषध गाँजा फेला परेको मकवानपुर प्रहरी प्रमुख मुकेश कुमार सिंहले बताउनु भयो ।
उनीमाथि पनि थप अनुसन्धान भइरहेको र उनले अपराध गरेको ठहर भएमा लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम दुई वर्षदेखि १० वर्षसम्म कैद र रु १५ हजारदेखि एक लाखसम्म जरिवाना हुने र कारसमेत जफत हुने प्रहरीले जनाएको छ ।
एम्बुलेन्स, ग्यास तथा तेल टयाङ्कर र अन्य सवारी साधनहरुमा लागुऔषध तस्कर हुने गरेको पनि भारतीय क्राईम ब्रन्चको उच्च पदस्थ अधिकारीको लोगो प्रयोग गरीएको सवारीमा लागुऔषध तस्करको घटना जिल्लामै पहिलो हो ।
प्रहरीले हेटौँडा–१५ रातोमाटेमा हेटौँडाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ५ ख ३९५२ नम्बरको यात्रुवाहक बसलाई रोकेर जाँच गर्दा बारा, परसौनी गाउँपालिका–५ का २२ वर्षीय पप्पु रायलाई आठ केजी गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
रातोमाटेमा वीरगञ्जबाट हेटौँडातर्फ आउँदै गरेको ना १ ज १७३९ नम्बरको माइक्रो बसलाई जाँच गर्ने क्रममा हेटौडा ८ कमानेका रुपक राईलाई नियन्त्रणमा लिइएको छ । रुपकको साथबाट नाइट्रोभेट १० लेखेको चार पत्तामा ६० ट्याबलेट लागुऔषध फेला परेको थियो। उनीमाथि पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । निज हरुलाई प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।