रियल मेड्रिड जाने हल्ला निराधार : एमबाप्पे

गुगलपाटी संवाददाता एजेन्सी
९ बैशाख २०७६ ०६:३२

 फ्रान्सका स्टार फुटबलर किलियन एमबाप्पे पछिल्लो समय आफ्नो उत्कृष्ट खेलका कारण चर्चित बनिरहेका छन् ।

मात्र २० वर्षको उमेरमा आफ्नो देशलाई विश्व च्याम्पियन बनाएका एमबाप्पेले आफ्नो क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई महत्वपूर्ण उपाधिहरु जिताउन प्रमुख भुमिका निभाएका छन् । हालै पीएसजीलाई उनले फ्रान्सेली लिग १ को उपाधि पनि दिलाए ।

अहिले नै ठुला उपलब्धि पाइसकेका किलियनले आफ्नो सफलतालाई अघि बढाउन रियल मेड्रिड जानुपर्ने आवाज पछिल्लो समय बढिरहेको छ । त्यसमाथी रियल मेड्रिडको प्रशिक्षकमा फ्रान्सेली पूर्व खेलाडी जिनेदान जिदान फर्किएपछि एमबाप्पेले मेड्रिड जाने सम्भावना ह्वात्तै बढेको जानकारहरुले बताइरहेका छन् ।

यहि हल्लाहरुको बिचमा मिडियासँग कुरा गर्दै एमबाप्पेले आफु रियल मेड्रिड जाने हल्ला निराधार रहेको बताएका छन् । आइतबार आफ्नो पूर्व क्लब मोनाको विरुद्ध ह्याट्रिक गरेका एमबाप्पेले जिदान पुनः मेड्रिडको प्रशिक्षक भएकोमा आफु खुशी भएको र आफु समर्थकको नाताले मेड्रिडलाई हेर्ने बताए । आफु पीएसजीमा रमाइरहेको पनि उनले खुलासा गरे ।

यस सिजनको लिगमा ३० गोल गरेर कीर्तिमान राखेका एमबाप्पेले च्याम्पियन्स लिगमा मेनचेष्टर युनाइटेडसँगको हार दुखद भएको बताए । यद्यपी लिग १ को उपाधि जित्नु खुशीको क्षण भएको बताएका छन् ।