किर्ते आरोपमा राजपाका दुई नेता पक्राउ
गुगलपाटी संवाददाता राजविरजकिर्ते आरोपमा राजपाका केन्द्रीय सदस्यद्वय बिपी यादव र हरीनारायण मण्डललाई जिल्ला प्रहरी कार्यालय सप्तरीले बिहिबार गिरफ्तार गरेको छ । सडकमा माटो तथा ग्राभेल गर्न स्वीकृत योजनाको २५ लाख रुपैयाँ निकाल्न कागज, छाप तथा नागरिकता र उपभोक्ता समितिसमेत किर्ते खडा गरेका केन्द्रीय सदस्यद्वय यादव र मण्डललाई २० दिनको सुक्ष्म अनुसन्धानपछि पर्याप्त प्रमाणका आधारमा पक्राउ गरी थप अनुसन्धान अघि बढाएको एसपी राजेन्द्र विष्टले दावी गरेका छन् ।
प्रहरीले आरोपितको घर छापा मार्नुका साथै पाँचजना सम्बन्धित व्यक्तिसँग लिखित वयान पनि लिएको छ । यादव र मण्डलकै योजनामा प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा अग्निसाइर कृष्णासवरण गाउँपालिका–२ र ३ स्थित सडकमा माटो तथा ग्राभेल गर्न स्वीकृत योजनाको २५ लाख रुपैयाँ निकाल्न कागज, छाप तथा नागरिकता किर्ते गरी उपभोक्ता समितिसमेत किर्ते खडा गरिएको प्रहरीको दावी छ ।
अग्निसाइर कृष्णसवरण गाउँपालिकाको लेटरप्याड, प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्रकुमार यादव, २ नम्बर वडाध्यक्ष पशुपति चौधरी र ३ नम्बर वडाध्यक्ष अरुणकुमार चौधरीको छाप किर्ते गरी पुर्वाधार विकास सम्पर्क ईकाई कार्यालय राजविराजसँग सडक मर्मत निर्माणको योजना सम्झौता गरिएको प्रहरीले जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव तथा वडाध्यक्षले समेत आफ्नो किर्ते हस्ताक्षर गरी वडामै नभएका किर्ते व्यक्ति खडा गरी उपभोक्ता समिति गठन गरेको बताएका छन् ।
आरोपीलाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय लगिँदै ।
उपभोक्ता समितिका लागि पेश गरिएका नागरिकताका प्रतिलिपीमा नाम परिवर्तन गरिएको छ । उपभोक्ता समितिको अध्यक्षमा सुरेन्द्रकुमार मण्डल भनी राखिएको नागरिकता राजविराज ६ का बिरेन्द्रकुमार मण्डलको रहेको खुलेको छ । मण्डललगायत फरार छन् । किर्ते प्रकरणमा भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास डिभिजन कार्यालय सिरहा र त्यसअन्तर्गतको सम्पर्क इकाई कार्यालय राजविराजमा कार्यरत केही कर्मचारीको मिलेमतो हुन सक्ने कोणबाट समेत छानबिन सुरु गरिएको छ ।
छिन्नमस्ता गाउँपालिका–२ मोहनपुर घर भई राजविराज–६ डेरा गरी बस्ने ५२ वर्षीय बीपी यादव भनिने विश्वनाथप्रसाद यादव पहिलो संविधानसभामा मधेसी जनअधिकार फोरम नेपालबाट समानुपातिक सभासद् थिए । कुटनीतिक राहदानी दुरुपयोग काण्डमा समेत मुछिएका उनले २०६५ असोज २७ गते इटालीमा आयोजित सम्मेलनमा भाग लिन र २०६७ असोज १८ गते अस्ट्रेलिया र क्यानडा जान रातो पासपोर्ट लिएका थिए । यादव र नेपाल जनता दलकी सभासद गायत्री साहको राहदानीमा अस्टे«लिया जाँदै गरेका पृथ्वी छन्त्याल र सीता साहलाई अवुधाबी विमानस्थलबाट फिर्ता पठाएपछि उनीहरू अध्यायगमन कर्मचारीको सहयोगमा त्रिभुवन विमानस्थलबाट बाहिरिएका थिए ।
पक्राउ परेका राजपाका अर्का केन्द्रीय सदस्य राजगढ गाउँपालिका–३ नर्घोका ४० वर्षीय मण्डल भने तत्कालिन सदभावना पार्टीका तर्फबाट स्थानीय शान्ति समिति सप्तरीका संयोजक थिए । किर्ते उपभोक्ता समिति काण्डमा पक्राउ परेका यादव र मण्डललाई प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रावधानविपरीत कोसी पश्चिमी नहरअन्तर्गत सप्तरीको विष्णुपुर चोकदेखि कनकटा–फकिरा–कुडनमा–राजगढको नहर चोकसम्म नहरमा र मुतनी नदीमा ग्राभेल हाल्न समेत २५÷२५ लाख रुपैयाँ बजेट दिइएको खुलेको छ ।
प्रदेश सांसदको सिफारिसमा बजेट विनियोजन गरी प्रदेश सरकारको रातो किताबमा योजना उल्लेख रहेपनि प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलसित राम्रो सम्बन्ध बनाएका यादव र मण्डलले गोप्य रूपमा किर्ते उपभोक्ता समिति गठन गरी काम समेत सुरु गरेका ती योजनाको काम पनि अहिले रोकिएको छ ।
राजपाद्वारा जिप्रका सप्तरी घेराउ
‘भ्रष्टाचारी, कालोबजारी अन्त्य गर’ लगायतका नौ बुँदे मागसहित आन्दोलनको कार्यक्रम घोषणा गरेको राजपा नेपाल किर्ते मुद्दामा पक्राउ परेका आफ्ना दुई नेताको बचाउ गर्दै आइतबार डेलिगेशन गएको छ । राजपा सप्तरीको अध्यक्ष मण्डलका संयोजक जिवछ यादवको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय डेलिगेसन गएका राजपा सप्तरीका नेता तथा कार्यकताले आफ्ना दुई नेतालाई फसाउन खोजिएको र कर्मचारीलाई जोगाउन खोजेको भन्दै आक्रोश व्यक्त गरे ।
सरकारी छाप किर्ते अभियोगमा प्रहरीले राजपाका केन्द्रीय सदस्यद्वय बीपी यादव र हरीनारायण मण्डललाई फसाउन खोजेको भन्दै सीडीओ सुरेन्द्र पौडेलसमक्ष दोषी कर्मचारीलाई अनुसन्धानको दायरामा नल्याउनुले थप आंशका उब्जिएको गुनासो गरे । अध्यक्ष मण्डलका सदस्य सुनीलकुमार झाले भने, ‘पार्टी र नेताको मानमर्दन गर्ने ढंगले भन्दा पहिले पार्टीसँग अन्तरक्रिया गरेर कारवाही बढाएको भए सत्यतथ्य खोजीमा सहयोग पुग्ने थियो तर दुबै नेतालाई पक्राउ, उजुरी दर्ता र म्याद थप एकै दिन हतारमा गर्नुले शंका उब्जिएको छ ।’
घटनामा सबभन्दा बढी दोषी रहेका पूर्वाधार विकास डिभिजन कार्यालयका प्रमुख डीई राजकुमार गोइतलाई कारवाही गर्न डेलिगेसनका प्रतिनिधीले माग गरेका छन् । डेलिगशनमा केन्द्रीय सदस्य बिशेश्वर रजक र सुरेन्द्र यादवसहित अध्यक्ष मण्डलका सदस्य सहभागी थिए । सीडीओ सुरेन्द्र पौडेलले कसैप्रति आग्रह, पूर्वाग्रह नराखी अनुसन्धानमा दोषी जो सुकै देखिए पनि कारवाहीको दायरामा ल्याउने प्रतिवद्धता जनाए । स्रोतः अन्नपुर्णपोष्ट