नेकपा मकवानपुरको अध्यक्षमा सिग्देल, सचिवमा पुलामी

गुगलपाटी संवाददाता हेटौंडा
१० बैशाख २०७६ ०६:३०

नेकपा मकवानपुरको अध्यक्षमा मुनु सिग्देल चयन हुनु भएको छ । नेकपा पार्र्टी भित्रको लामो छलफल पछी ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको जिम्मेवारी तोक्ने क्रममा नेकपा मकवानपुरको जिम्मेवारी सिग्देलले पाउनु भएको हो ।

मकवानपुरमा तत्कालिन एमालेले अध्यक्ष पाउने र माओवादीले सचिव पाउने सहमति भएको थियो । त्यही सहमती अनुसार सिग्देलले पार्र्टीको जिम्मेवारी पाउनु भएको हो । एमालेका तर्फबाट नेता बद्री लम्साल र श्रीधर पोखरेलको नाम अध्यक्षका लागि महिनौ सम्म निकै चर्चा परिचर्चा भएपनि अन्तत् सिग्देलले पार्टी अध्यक्षको जिम्मेवारी पाउनु भएको हो ।

यसअघि जनप्रतिनिधि रहेकाहरुलाई पार्र्टीको नेतृत्व नदिने सहमति भएपनि त्यो निर्णयलाई प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बेलुकी बसेको सचिवालय बैठकले संशोधनगरेसँगै सिग्देलका लागि बाटो खुल्ला भएको हो । अध्यक्ष सिग्देल अहिले प्रदेशसभा सदस्य हुनुहुन्छ ।

त्यस्तै नेकपा मकवानपुरको सचिवमा पुर्ब माओबादीका अध्यक्ष समेत रहुनु भएका प्रेमबहादुर पुलामी “ छिन्तु”चयन हुनुभएको छ । तत्कालिन माओबादीका जिल्ला अध्यक्षलाईनै सचिबको जिम्मेवारी दिने निर्णय अनुसार पुलामी सचिब हुने निश्चित भएको हो । यसअघि पार्र्टीले बिष्णु बिष्ट “आदर्श”लाई सचिवमा निर्णय गरेर पठाएको थियो ।

जनप्रतिनिधिहरुले पार्र्टी भित्रको पदमा बस्ननपाउने भन्ने नियम सच्चिएसंगै सिग्देल र पुलामी दुवैलाई अध्यक्ष र सचिब हुने बाटो खुलेको हो ।

४५ जिल्लामा तात्कालीन एमाले र ३२ जिल्लामा माओवादी केन्द्रले नेतृत्व लिने सहमति भएको थियो । एमालेले अध्यक्ष पाउने जिल्लामा माओवादीले सचिव र माओवादीले अध्यक्ष पाउने जिल्लामा एमालेले सचिव पाउने सहमति भएको छ ।

पार्र्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले ७७ वटै जिल्लाको जिल्ला कमिटीका अध्यक्ष र सचिवको टुङ्गो लागेको जानकारी दिनुभयो । यस अघि सचिवालय, केन्द्रीय कमिटी, प्रदेश कमिटीको घोषणा भइसकेको थियो । जिल्ला तहको एकता टुंगो लागे पछि पोलिटब्युरो कमिटी, केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट, जनवर्गीय संगठन र स्थानीय तहको एकता छिट्टै टुंगो लाग्ने प्रवक्ता श्रेष्ठले वताउनु भयो ।