पर्सामा तीन पत्रकार संगठनले बनाए निर्वाचन परिचालन समिति
गुगलपाटी संवाददाता वीरगन्ज, ८ बैशाख ।
नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ को निर्वाचनको सन्दर्भमा पर्साका तीन वटा पत्रकार संगठनबीच आज छलफल भएको छ । वीरगन्जको होटल विजय ज्योतीमा सम्पन्न प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेण्टर पर्साको संयुक्त बैठकले गठबन्धनका उम्मेदवारहरुलाई जिताउनका लागि निर्वाचन परिचालन कमिटि गठन गरेको छ । प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मीको अध्यक्षतामा बसेको बैठकले प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष अनुप तिवारी, प्रेस सेण्टर नेपाल पर्साका अध्यक्ष नीरज पिठाकोटे मगर र एकजना महिला सहित आवश्यकता अनुसार पछि सदस्य थप गर्ने गरि सात सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरेको छ । निर्वाचन परिचलन समितिले निर्वाचनमा तीनवटै संगठनका साझा उम्मेदवारलाई जिताउन महत्वपूर्ण भूमिका खेल्ने निर्णय गरेको छ । बैठकमा प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष एवं प्रदेश नम्बर २ का संयोजक लालबाबु शेष, पूर्व उपाध्यक्ष महेश दास, अनुशासन समितिका सदस्य केसी लामिछाने, प्रेस चौतारीका अनुप तिवारी, सचिव सञ्जिव मिश्र, नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बञ्जाराको उपस्थिति रहेको थियो । त्यस्तै युनियनका तर्फबाट जिल्ला अध्यक्ष रामनारायण कुर्मी, शंकर खतिवडा, दिपेन्द्र चौहान, अशोक तिवारी, रितेश त्रिपाठी, रामराज्य यादव र प्रेस सेण्टरको तर्फबाट जिल्ला अध्यक्ष नीरज पिठाकोटे मगर, प्रदेश सदस्य जगत राई लगायतको उपस्थिति रहेको थियो ।