प्रदेश नं ३ को पर्यटन ‘ब्रान्ड’ सार्वजनिक

गुगलपाटी संवाददाता
११ बैशाख २०७६ ११:३९

काठमाडौँ : तीन नम्बर प्रदेश सरकारले प्रदेश नं ३ को पर्यटन ‘ब्रान्ड’ सार्वजनिक गरेको छ । काठमाडौंमा एक कार्यक्रम गरी उद्योग, पर्यटन, वन तथा वातावरणद्धारा निर्माण गरिएको ब्राण्ड चिन्ह प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सार्वजनिक गरेका हुन् ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको चालु आव ०७५÷७६ को स्वीकृत कार्यक्रममा प्रदेश नंं ३ को पर्यटन ब्रान्ड तयार गर्ने योजना अनुसार ब्रान्ड तयार गरिएको हो । यसका लागि गठन गरिएकोे पर्यटन ब्रान्ड नाम सिफारिस तथा छनोट समितिले चैत १५ गते सातवटा ब्रान्ड नाम छनोट समितिलाई सिफारिस गरिएको थियो । यसमध्ये क्राफ्टेड हेभन इन नेपालका मनिष रोकायले ‘गन्तव्य : स्वर्ग काल्पनिक हो प्रदेश नंं ३ वास्तविक हो’ भन्ने ब्रान्ड पहिलो प्राथमिकतामा परेको पर्यटन विकास आयोजना प्रमुख राजु क्षेत्रीले बताए ।
छनोट भएको उत्कृष्ट एक ब्रान्डलाई एक लाख पुरस्कार मन्त्रालयले व्यवस्था गरेको थियो । मन्दिर, गुम्बा, प्राकृतिक दृश्य, सहित गैंडा समेटिएको उक्त लोगो आगमी दिनमा प्रदेश ३ को पर्यटनको परिचायक बन्नेछ ।
यसै कार्यक्रममा जुगल हिमशृङ्खलाको ग्याल्जेन पिकका प्रथम आरोहीलाई प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सम्मान गरेको थियो ।