एमाले माओवादी पार्टी एकता अन्यौलमा ,कसले अड्कायो हलो
समाचार टिप्पणी मकवानपुर,९ बैशाखआज घोषणा हुने भनिएको एमाले माओवादी बीचको पार्टी एकता अझै गर्भमा रहेको छ । माओवादी अध्यक्ष प्रचण्डको निवास खुमलटारमा आज बिहान बसेको माओवादी केन्द्रीय कार्यालयको बिस्तारित बैठकले पार्टी एकताका लागि अग्रिम मिति तोक्नु उपयुक्त नहुने निष्कर्ष निकालेको छ । एकताका लागि अझै एक(दुई महिना लाग्नसक्ने बैठकको निष्कर्ष छ ।यसले झनै पार्टी एकता अन्यौलमा परेको छ । बैठकपछि प्रवक्ता पम्फा भुसालले भनिन्, ‘ठ्याक्कै तिथि तोक्न सकिन्न । अलिकति टाइम लेला, तर एकता अनिवार्य छ ।’
बैठकमा अध्यक्ष प्रचण्डले एमाले नेताहरुसँग एकताको विषयमा भइरहेको छलफलको प्रगतिबारे जानकारी गराएका थिए ।
सैद्धान्तिक, राजनीतिक र सांगठनिक विषयमा विषयमा सहमति र समझदारी कायम गर्ने कुरामा सकारात्मक ढंगले कुराकानी अगाडि बढेको प्रचण्डले बैठकमा व्रिफिङ गरेका थिए ।
प्रचण्डको भनाइ उद्धृत गर्दै प्रवक्ता भुसालले भनिन्, ‘दुवै पार्टीका नेता, कार्यकर्ता र नेपाली जनताले अनुमोदन गरेको अहिलेको राष्ट्रको आवश्यकतामा पार्टीको एकता सम्पन्न गर्ने कुरा सुनिश्चित छ । त्यो पार्टी एकता सिद्धान्तनिष्ठ, समानता, सम्मानजनक र न्यायोचित आधारमा हुनेछ ।’
बैठकमा केन्द्रीय नेताहरुले आफ्ना सुझाव राखेका थिए । प्रायः सबै नेताहरुले पार्टी एकता आवश्यक भएको बताएका थिए । जवाफमा प्रचण्डले नेताहरुको व्यवस्थापन नभएर एकता रोकिएको भन्ने कुरा सही नभएको बताएका थिए ।
‘एमालेमै कुरा मिलेको छैन’
यसैबीच बैठकमा सहभागी अर्का एक नेताका अनुसार एमालेकै नेताहरुबीच कुरा मिल्न बाँकी रहेकाले एकता प्रक्रियाले अझै केही समय लिने प्रचण्डलगायतका नेताहरुको निष्कर्ष छ ।बैठकमा उठेको प्रसंग उल्लेख गर्दै माओवादी स्रोतले भन्यो, ‘एमालेकै नेताहरुबाट विरोधाभासपूर्ण कुराहरु आइरहेका छन् । कहिले एकथोक भन्छन्, कहिले अर्कोथोक भन्छन् । त्यसैले एकताका लागि अहिल्यै मिति तोक्न सकिन्न, एकाध महिना अझै छलफल आवश्यक छ ।’
यसअघि एमाले र माओवादीबीच वैशाख ९ गते अर्थात् आज पार्टी एकताको घोषणा गर्ने सहमति भएको थियो । तर केही प्राविधिक विषयमा कुरा नमिलेकाले आजको मिति टरेको छ ।
दुई पार्टीबीच जनयुद्ध शव्द, चुनाव चिह्न र केन्द्रीय समितिमा कति(कति जना सदस्यहरु रहने भन्ने विषयमा कुरा मिल्न बाँकी छ ।एमालेका नेताहरु भने माओवादीले बरावरको हिस्सा खोवेका कारण तत्काल एकता संभव नभएको बताएका छन् । एकताका बिषयमा दुई पार्टीलिे दिदै आएको र तोक्दै आएको समयसीमा ९ बैशाखा ओझेलमा परे संगै एकता पनि अन्यौलमा परेको छ ।