प्र.म ओलीलाई तरुणदलले बुझायो ६ बुदेँ ध्यानआकर्षण पत्र, मन्त्री मगर गैरजिम्मेवार चरित्रको रहेको ठहर
गुगलपाटी संवाददाता हेटौंडाजनताको स्वतन्त्रपूर्वक बाँच्न पाउने संवैधानिक अधिकार खोस्दै जनता र राष्ट्रलाई नै घात हुने गरी वर्तमान सरकार अघि बढेको भन्दै भातृ संगठन नेपाल तरुण दलले ध्यानआकर्षण पत्र बुझएको छ ।
आइतबार देशभरका जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्यसबारे सच्याउन ६ बुँदे ध्यानाकर्षणपत्र बुझाएको हो ।
तरुणले बुझाएको ज्ञापनपत्रमा खानेपानी मन्त्री बिना मगर गैरजिम्मेवार भ्रष्टाचारी चरित्रको रहेको ठहर गरेको छ ।
ज्ञापनपत्रको ४ नम्बर बुँदामा तरुण दलले काठमाडौंका जनताले दशकौदेखिको मेलम्चीको पानी खाने सपना वर्तमान सरकारको कुकृत्यको कारण अधुरो रहेको ठहर गरिएको छ ।
वाइडबडी भ्रष्टाचार काण्डले नेपाल र नेपालीको शीर निहुरिएको भन्दै अरबौंको भ्रष्टाचारको तत्काल छानविन गर्न तरुणले ध्यानाकर्षण गराएको छ ।
निर्मला पन्तको बलात्कारपछि हत्या भएको १० महिना भइसक्दा पनि अपराधमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न नसकिएको भन्दै ज्ञापनपत्रमा सरकारको आलोचना गरिएको छ ।
केन्द्रीय कार्यक्रमअनुसार तरुण दल मकवानपुरले पनि मकवानपुरका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको तरुणको टोलीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।