विपन्न विद्यार्थीको अभिभावक बनिन् उपप्रमुख पुडासैनी

गुगलपाटी संवाददाता हेटौंडा
१६ बैशाख २०७६ ०५:५६

भीमफेदी गाउँपालिकास्थित श्रीमहालक्ष्मी माविमा विपन्न परिवारका एक बालक र एक बालिकालाईलाई जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी पढाएकी छिन् । उनले आफू अभिभावक बनेर विपन्न परिवारका दुई बाल बालिकालाई पढाएकी हुन् ।

यसरी विपन्न परिवारका बालबालिकालाई पढाउने जनप्रतिनिधिहरुको नामावलीमा उनी पनि छिन् । उपप्रमुख पुडासैनीले भीमफेदी गाउँपालिका सुपिङका ९ वर्षीय राजेश विश्वकर्मा र ५ वर्षीया सुप्रिया रुम्बालाई पढाएकी हुन् । यी दुई बालबालिकालाई एसइइ तहसम्म आफूले पढाउने पुडासैनीले बताइन् ।

उपप्रमुख पुडासैनीले गतवर्षको भर्ना अभियानमा विश्वकर्मालाई श्रीमहालक्ष्मी माविको १ कक्षामा भर्ना गराएकी थिइन् । विश्वकर्मा पास भएर २ कक्षामा पुगेका छन् । उनले यसवर्षको भर्ना अभियानको क्रममा रुम्बालाई सोही विद्यालयमा भर्ना गराउन भर्ना शुल्क दिएकी छिन् । रुम्बा सानै उमेरकी भएकोले शिशु कक्षा वा १ कक्षामा भर्ना गराउने भन्ने विषयमा विद्यालयका शिक्षकले निर्णय लिने पुडासैनीले जानकारी दिइन् ।

विश्वकर्माको परिवारमा ३ जना दाई र १ दिदी छन् । रुम्बाको परिवारमा १ दाई र ४ दिदी छन् । विश्वकर्मालाई परिवारले पढाउन नसक्ने भएपछि पुडासैनीले अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गराएकी थिइन् । रुम्बाको बुबाको करिब ६ महिनाअघि निधन भएको थियो । उनकी आमाको आयश्रोत नहुँदा विद्यालय पढ्न नपाउने स्थिति हुन थालेपछि आफूले भर्ना गराएको पुडासैनीले बताइन् ।

विश्वकर्मा र रुम्बालाई विद्यालयमा भर्ना गराएर विद्यालय पोशाक र शैक्षिक सामग्री उपलब्ध गराएकी छिन् । उनले आफूले पढाए पनि परिवारले शैक्षिक महत्व बुझेर आफ्ना सन्तानको अध्ययनमा चासो नदिए राम्रो प्रतिफल पाउन नसकिने बताइन् । बालबालिकाको नियमित शिक्षामा परिवारले चासो राख्नु पर्ने उनको भनाई छ ।