ज्वाला आज जेलबाट छुट्दैँ, रिहा भए लगत्तै पुनः पक्राउ पर्न सक्ने

गुगलपाटी संवाददाता हेटौंडा
१६ बैशाख २०७६ ०६:३६

गत चैत्र २८ गते हेटौंडाको फायरलाइनबाट पक्राउ परेका नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरका इन्चार्ज वीरबहादुर घलानलाई ‘ज्वाला’ सोमबार (आज) रिहा हुने भएको छ ।

जिल्ला अदालत मकवानपुर र जिल्ला प्रशासन कार्यालय मकवानपुरले तोकेको धरौटी बुझाएपछि आज रिहा गरिने भएको प्रहरीले जनाएको छ । धरौटी र जरिवाना बुझाएर आज रिहा गर्ने तयारी भएपनि प्रहरीले उनलाई तत्कालै पक्राउ गर्ने बुझिएको छ ।

अर्को मुद्दा लगाएर ज्वालालाई पुनः पक्राउ गर्ने तयारीमा प्रहरी रहेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता (प्रहरी निरीक्षक) सागरविक्रम राणाका अनुसार ज्वालाको अर्को मुद्दा पनि बाँकी रहेकोले उनी रिहा भए लगत्तै पुनः पक्राउ पर्न सक्छन् ।

ज्वालाले हात हतियार मुद्दाको जरिवानाबापत जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ६० हजार रुपैयाँ बुझाएका छन् । त्यस्तै विष्फोटक पदार्थको मुद्दामा जिल्ला अदालत मकवानपुरले तोकेको १८ हजार धरौटी पनि उनले बुझाइएको छ ।