मिस नेपाल शृङ्खलाको स्वस्थ्य केन्द्र अन्तिम चरणमा
गुगलपाटी संवाददाता हेटौंडामिस नेपाल वल्र्ड २०१८ शृङ्खला खतिवडाले गृह जिल्ला मकवानपुरको विकट गाउँमा निर्माणाधिन सामुदायिक स्वास्थ्य केन्द्र भवनको निर्माण अन्तिम चरणमा पुगेको छ । कैलाश गाउँपालिका वडा नम्बर ७, ताम्लाङमा उनी अध्यक्ष रहेको वान होम फाउन्डेशनमार्फत् निर्माणको अन्तिम चरणमा पुगेको स्वास्थ्य केन्द्र भवनको निरिक्षण गरेकी छिन् ।
आफै आर्किटेक्ट इन्जिनियर भएकाले मिस वल्र्ड २०१८ को ब्यूटी विथ प्रपर्स अर्थात् ‘उदेश्यसहितको सौन्दर्य’का लागि उनले स्वास्थ्य केन्द्र भवन निर्माण शुरु गरेकी थिईन् । साउन २६ गते शिलान्यास गरिएको स्वास्थ्य केन्द्र भवनको निर्माण सकिने तरखरमा रहेकोले खतिवडा खुसी देखिन्छन् ।
मिस नेपाल खतिवडाले रचनात्मक कार्य अन्तरगत विकट क्षेत्रका बिपन्न जनतालाई सहज सेवा पुर्याउनेउदेश्यले ६ कोठे स्वास्थ्य केन्द्र भवन निर्माण सकिन लागेकोमा हर्ष लागेको बताईन् ।
‘आज म यत्ति धेरै खुशी छु, भनि साध्य छैन,’ आमा एवम् प्रदेश सांसद मुनु सिग्देलसँग पुगेकी उनले खुशी साट्दै भनिन्, ‘काठमाडौंमा बसेर काम कत्ति पुग्यो होला भनेर धेरै आत्तिई रहेको थिए ।’ करिब ६० लाख रुपैंया खर्च लाग्ने स्वास्थ्य केन्द्र भवन निर्माणमा भौगोलिक विकटताका कारण निर्माण सामग्री ढुवानी र जनशक्तिको अभावले धेरै समस्या भएको उनले बताईन् ।
‘अपाङ्गमैत्री भवनका सबै कोठामा ह्वील चेयर आवात–जावत गर्न मिल्छ,’ उनले भनिन् । तीन वटा शौचालय समेत रहेको भवनको एउटा कोठालाई बालबालिका खेल्न मिल्ने बनाईने उनको भनाई छ ।
स्वास्थ्य केन्द्र भवन निर्माण हुनासाथ कैलाश गाउँपालिकालाई हस्तान्तरण गर्ने उनले बताईन् । ‘नर्स, अनमी लगायतको कर्मचारीको दरबन्दीका लागि स्वीकृती पनि पाईसक्यौ,’ उनले भनिन् । भवन गाउँपालिकालाई हस्तान्तरण गरेपनि स्वास्थ्य शिविर आयोजना र डाक्टरहरु भ्रमणमा ल्याउने काम भने गरिरहने उनको भनाई छ । ‘एक बर्ष सकिसक्यो, यो पाली ढिला शुरु भएकाले हामी १३ महिना रेनिङ्ग क्वीन हुन पायौ,’ उनले भनिन्, ‘नयाँ मिस नेपाल को होला भनेर उत्सुक छु ।’