‘कालो, रातो, सेतो झण्डा गाडेर केही हुँदैन् : मेयर महत

गुगलपाटी संवाददाता हेटौंडा
१६ बैशाख २०७६ ११:३४

हेटौंडाको मध्ये भागमा रहेको एकमात्र ठूलो खुला चौर हो, हुप्रचौर । विपतको समयमा, खेलकुद प्रतियोगिता र विविध कार्यक्रमका लागि महत्वपूर्ण बनेको छ हुप्रचौर । तर, हुप्रचौरमा हाल भौतिक संरचना जस्तैः सटर र मिनि प्याराफिट बनाउने विषय विवादको उत्कर्षमा छ । सरोकार समितिको नेतृत्वमा स्थानीयले शनिवार चौरमा विरोध स्वरुप कालो झण्डा गाडेका छन् । विरोधमा उत्रिएका स्थानीयले सरसफाईको क्रममा तारजाली पनि निकालेका थिए ।

हेटौंडा उपमहानगरपालिकाका मेयर रामबहादुर महतले सार्वजनिक कार्यक्रममा हुप्रचौरमा सटर र मिनि प्याराफिट बनाएर खेलकुद क्षेत्रको विकास गर्ने भन्दै आएका छन् । उनको प्रतिक्रिया आएको लगतै हुप्रचौर सरोकार समितिको नेतृत्वमा स्थानीयबासी विरोधका विभिन्न कार्यक्रम गर्दै सटर र मिनि प्याराफिट बनाउन नदिने अडान लिँदै आएका छन् ।

हेटौंडा उपमहानगरपालिकाले हुप्रचौरमा संरचना निर्माणको लागि बोलपत्र आह्वान गरेको छ । मेयर महतले कार्यपालिकाको बैठकले ठेक्का खोल्ने वा नखोल्ने निर्णय गर्ने जानकारी दिए । ‘हुप्रचौरमा के गर्नुपर्छ मेरो हातमा छ । त्याहाँ उफ्रिएर केही हुँदैन् । मँ सँग कुरा गरेका छैनन्, कुरा गर्न आउनु पर्छ ।–’ महतले भने– ‘कालो, रातो, सेतो झण्डा गाडेर केही हुँदैन् ।’

हुप्रचौरमा स्थानीयले सोचेको जस्तो चौर नै मासिने प्रकारको संरचना नबन्ने मयेर महतले बताए । उनका अनुसार एकतर्फीरुपमा १५ फिटको सटर रहनेछ । रंगशालाको जस्तो ठूलो प्याराफिट नबन्ने पनि मेयर महतले बताए । बोलपत्र खुलाउने विषयमा त्यो आफ्नो र कार्यपालिकाको बैठकको हातमा भएकोले कहिले र खुलाउने वा नखुलाउने कुरा आफ्नो हातमा भएको बताए ।
जिल्ला खेलकुद विकास समिति अध्यक्ष माधव तिमल्सिनाले हुप्रचौरलाई मास्ने नभइ व्यवस्थित बनाउन खोजिएको बताए । ‘हुप्रचौरलाई खेलकुद गतिविधिका साथै खुलारुपमा राख्ने हो ।

हुप्रचौर सरोकार समिति उपाध्यक्ष कमलराज मैनालीले हुप्रचौरमा कुनैपनि भौतिक संरचना बनाउन नहुने बताए । भौतिक संरचना बनाउँदा हुप्रचौर झन साँघुरो हुने भन्दै संरचना नबनाउन मुख्यमन्त्री डोरमणी पौडेल, मेयर महत र वडा अध्यक्ष नवीन सिग्देललाई ज्ञापन पत्र दिएर जानकारी गराएको उनले बताए । मैनालीले हुप्रचौरमा संरचना बनाउन खोज्नेहरु भू–माफिया र कमाउने धन्दा भएको आरोप लगाएका छन् । उनले हुप्रचौरमा बनाउने प्याराफिट अन्यन्त्र लगेर बनाउन आग्रह गरे ।