मण्डपबाटै बेहुला बेहुलीसहित ४ जना पक्राउ
गुगलपाटी संवाददाता संखुवासभागत शनिवार खाँदबारी नगरपालिका ६ तल्लो पांठामा विवाह मण्डपबाटै बेहुला बेहुलीसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला बाल क्लव समन्वय समितिले बाल विवाह हुँदैछ भन्ने जानकारीे प्रहरीलाई दिएपछि प्रहरीको टोलीले बेहुला–बेहुली, उनीहरुका बाबुलाई पक्राउ गरेको थियो ।
बेहुलीको परिवारले आफ्नी छोरी २० वर्ष पुगिसकेको जानकारी गराउदाँ गराउँदै आफ्नो कुरा नसुनिकन प्रहरीले पक्राउ गरेको आरोप लगाए ।
प्रहरीले बेहुला ३६ बर्षीय जित बहादुर तामाङ, बुवा कैलाशपति तामाङ, बेहुली र उनको बुवा तिर्थ तामाङलाई गत शनिबार पक्राउ गरेका थिए। प्रमाण नपुगको भन्दै प्रहरीले चारै जनालाई सोमबार थुनामुक्त गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय संखुवाभाका प्रहरी निरिक्षक सन्तोश राईका अनुसार जिल्ला बाल क्लव समन्वय समिति पनि आधिकारीक संस्था भएकोले सोहि संस्थाको उजुरीको आधारमा हामिले पक्राउ गरेको बताए । निरिक्षक राईले भने बेहुलीको उमेर खुल्ने कागपत्र काहीँ नभेटिएपछि छोड्न बाध्य भएको बताए ।
पक्राउ गर्नकोे लागि उजुरी दिने संस्थासंग पनि बेहुलीको उमेर खुल्ने कागजात र कुनै प्रमाण नभएको पाइएको छ । बाल क्लव समन्वय समितिका पुर्व अध्यक्ष खेवाहाङ मेवाहाङले प्रमाण जुटाएर उजुरी दिन आफुहरु अदालत नभएको बताए ।
उनले भने, ‘हाम्रो काम उजुरी दिने हो प्रमाण जुटाउने काम प्रहरीको भएको हो ।’ यसरी बिना प्रमाण प्रहरीले विवाह मण्डपबाटै पक्राउ गर्दा पिडित परिवार भने आक्रोसित बनेका छन् । प्रहरीले उनीहरुलाई वडा अध्यक्ष दयानिधि बरालको रोहवरमा रिहा गरेको जनाएको छ ।