ब्यानरमा लेनिन र माओकै फोटो गायब भएपछि लफडा
गुगलपाटी संवाददाता काठमाडौंलेनिन जयन्तीको अवसर पारेर एमाले र माओवादीले आइतबार संयुक्त सभा गर्नेक्रममा लफडा भएको छ । जेका लागि भनेर कार्यक्रम आयोजना गरिएको थियो,त्यही कुरा नभएपछि कार्यकर्ताहरु आक्रोशित भएका हुन् । लेलिन दिवसकै कार्यक्रममा उनकै फोटो भएन ब्यानरमा । त्यसैले कार्यक्रम सुरु नहुँदै विवाद भएको छ । लेनिन दिवसको अवसरमा आयोजित कार्यक्रमको बोर्डमा लेनिनकै तस्वीर थिएन । कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ र एमाले नेताद्वय मनमोहन अधिकारी र मदन भण्डारीको मात्र तस्वीर थियो । साथै केपी ओली र प्रचण्डका ठूला तस्वीर थिए ।
लेनिन जयन्तीको कार्यक्रममा लेनिनकै तस्वीर नदेखिएपछि हलमा उपस्थित माओवादी केन्द्रका कार्यकर्ताले नाराबाजी गरे ।
कार्यकर्ताको लगातारको नाराबाजीपछि आयोजकले उक्त बोर्ड हटाएको छ ।
माओवादी कार्यकर्ताले माओको तस्वीर नराखेकोमा पनि विरोध जनाएका थिए । माओवादीले आफ्नो कार्यक्रममा कार्ल मार्क्स, एंगेल्स, लेनिन, स्टालिन र माओको तस्वीर राख्ने गरेको छ ।
अर्को ब्यानर बनाउनअघि शीर्षस्थ नेताहरू छलफलमा जुटेका छन् । कार्यक्रम ढिला भएको भन्दै सहभागीले होहल्ला गरिरहेका छन् ।
सभागृहमा सहभागी नअटेर बाहिर सडकसम्म छरिएका छन् । बाहिर प्रोजेक्टरबाट हेर्ने ब्यबस्था मिलाइएको छ ।यसैबीच ब्यानर बनाउने बिषयमा दुबै शीर्ष नेताहरुले गल्ती भएको बताएका छन् । माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले ब्यानरमा देखिएको टुत्री कमजोरी भएको बताएका छन्।