आमाको मुख हेर्न माईती हिडेकी निर्मलाको दुुर्घटना परी मृत्यु

गुगलपाटी संवाददाता हेटौंडा
२२ बैशाख २०७६ ०९:१६

मातातिर्थ औँशीका दिन आमाको मुख हेर्न माईतीतर्फ जाँदै गरेकी हेटौँडाकी २५ वर्षीय निर्मला राईको ज्यान गएको छ । पश्चिम मकवानपुरको मनहरी ९ स्थित खराङ्गा जैसिङमा ३ वटा ट्रक एक आपासमा ठोकिँदा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३ की निर्मलाको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यू भएको मनहरीबाट सञ्चारकर्मी जयराम मोक्तानले जानकारी दिएका छन् ।

मृतक राई मनहरी ६ प्रतापपुरमा मातातिर्थ औँशीको अवसरमा माइतीमा आमालाई भेटघाट गर्न आइरहेको बताइएको छ । दुर्घटनामा परी अन्य १२ जना घाईते भएका छन् । हेटौँडाबाट मनहरी तर्फ गईरहेको ना ६ ख ३३७४ नम्बरको ट्रक र मनहरीबाट हेटौँडातर्फ आईरहेको ना ४ ख ११९२ तथा ना ६ ख ९९०७ नम्बरको ट्रक एकआपसका ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटना पश्चात घाइते भएकाहरुलाई प्रहरीको सहयोगमा पुरानो मेडिकल कलेज भरतपुर उपचारको लागि पठाइएको थियो । घाईते मध्य राईको ज्यान गएको हो ।

दुर्घटनामा परि घाईते हुनेहरुमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३ का ३६ वर्षिया कृष्णमाया राई, सोही स्थान बस्ने ५३ बर्षीय दिलमाया राई, २० वर्षिय शिला राई, मनहरी वडा नम्बर ६ का २६ वर्षिया कमला तामाङ, बर्ष २८ की धनमाया राई, बर्ष ५ का सुनिल राई, हेटौँडा उपमहानगरपालिका ८ कमानेका १६ बर्षकी पुजा मुक्तान, धादिङ बस्ने बर्ष २० का सन्तोष बिडारी, कपिलबस्तु शिवराज नगरपालिका १ का १७ वर्षिय दिपक सुनार रहेका छन् । मनहरी ६ लोथरका इरान लामा भने सामान्य उपचार पछि घर फर्केका छन । ना ६ ख ३३७४ नम्बरका ट्रक चालक रौतहट जिल्ला बस्ने बर्ष २७ को उमेश भुजेल र ना ६ ख ९७०७ नम्बरको ट्रक चालक दाङ बस्ने बर्ष ३५ का सरोज चौधरी पनि घाइते भएका छन् । ना ४ ख १९९२ नम्बरको ट्रक चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।