प्रदेश ३ का ४७ स्थानीय तहमा एम्बुलेन्स , शववाहन र दमकल खरिद गर्न रकम निकासा
गुगलपाटी संवाददाता हेटौंडाप्रदेश–३ सरकारले मातहतका स्थानीय तहलाई एम्बुलेन्स, दमकल, शववहान खरिद गर्नका लागि रकम उपलब्ध गराएको छ । प्रदेशमा रहेका एकसय १९ वटा स्थानीय तह मध्ये ४७ वटालाई रकम उपलब्ध गराइएको हो ।
सरकारले सबै स्थानीय तहलाई सेवामूलक सवारीसाधन खरिद गर्न प्रस्ताव आव्हान गरेपनि ४७ वटाले मात्र रकम पाएका हुन् । ४७ वटा स्थानीय तहमा ५० वटा एम्बुलेन्स, दमकल, शववहान खरिद गर्न रकम निकासा भइसकेको प्रदेश–३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले जानकारी दिए ।
प्रदेशका ४७ वटा स्थानीय तहले ३७ वटा एम्बुुलेन्स, ६ वटा दमकल र ७ वटा शववहान खरिद गर्नका लागि अनुमति पाएर रकम समेत निकासा गरिएको उनले बताए । स्थानीय तहमा ५० वटा सवारीका लागि १० करोड ५७ लाख रुपैयाँ निकासा गरिएको मन्त्री ढुंगेलले जानकारी दिए ।
दमकल खरिद गर्ने स्थानीय तहले ६० लाख, एम्बुलेन्स खरिद गर्ने स्थानीय तहले १६ लाख र शववाहन खरिद गर्ने स्थानीय तहले ३१ लख रुपैयाँका दरले रकम प्राप्त गरेका हुन् ।
प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय मार्फत् रकम निकासा गरेको जनाएको छ । धेरै स्थानीय तहमा एम्बुुलेन्स, दमकल अभावका कारण समस्या बेर्होदै आएका थिए ।